नेपालगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षबाट लागु भएका विभिन्न प्रावधानलाई लिएर असन्तुष्टि जनाइरहेको निजी क्षेत्रको आन्दोलन प्रति चासो लिएका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडा , उद्योग मन्त्री मात्रिका यादव सहित नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासंग शुक्रवार यस विषयमा छलफल गरेका छन् ।
भेहीकल एण्ड कन्साइन्मेन्ट ट्र्या्िकङ सिस्टम (भीसीटीएस) का विषयमा विविध छलफल भएको थियो । उक्त छलफलबाट घरेलु तथा साना उद्योगी, व्यवसायीका हकमा हालका लागि भीसीटीएस प्रणाली बाध्यकारी नहुने र यस सम्बन्धमा जनचेतनामूलक कार्यक्रम लागु हुने आश्वासन प्राप्त भएको महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले जिल्लास्थित उद्योग वाणिज्य संघ, पूर्व अध्यक्ष, पदाधिकारी लगायतलाई बोधार्थ पठाएको पत्रमा उल्लेख छ ।
आज भएको छलफलकै निरन्तरता स्वरुप आईतवार अर्थमन्त्री युवराज खतिवडाले बार्तामा वार्तामा बोलाएको महासंघले जानकारी दिएको छ । बार्तामा भीसीटीए, स्थायी लेखा नम्बर,मूल्य अभिबृद्धि कर लगायतका विषयमा महासंघका पदाधिकारी, सरोकारवाला निकायका अगुवासंग छलफल हुने उल्लेख छ । महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ निजी क्षेत्रको आन्दोलनका विषयमा प्रधानमन्त्रीको ध्यानार्कषण भएर बार्तामा बोलानुलाई सकारात्मक मान्छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले भने,–‘देशभरमा पहिलो पटक हामीले आन्दोलन शुरु गरेका हौं । आज भएको छलफलले सकारात्मक निष्कर्ष निकाल्ने बिश्वास गरेका छौं ।’
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले हरेक विषय बार्ता र सहमतिबाटै टुङ्गो लाग्नुपर्ने बताए । उनले रहरले नभई बाध्यात्मक अवस्थामा आन्दोलन गरिएको बताउँदै अब समस्या समाधानतर्फ जानेमा बिश्वास व्यक्त गरेका छन् ।