‘सभागृहको जग्गा खारेजीको निर्णय पुर्नविचार गर्न माग, बसका लागि कार्यविधि बन्ने’


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको आज बसेको बोर्ड बैठकले सभागृह निर्माणका लागि सडक डिभिजन परिसरको जग्गाको भोगाधिकार नेपालगञ्ज उद्योग वाणिज्य संघलाई दिने सम्झौता खारेज गर्ने निर्णयमा पुर्नविचार गर्न सरकारसंग माग गरेको छ । बोर्ड बैठकले उक्त सम्झौता पुर्नविचार गर्न सरकारसंग माग गर्ने निर्णय गरेको प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले जानकारी दिएका छन् ।

‘नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०६४ भदौं ४ गतेको निर्णयानुसार सडक डिभिजन नेपालगन्ज, बांके (महेन्द्र राजमार्गको) नाममा रहेको जग्गामध्ये १० विगाहा जग्गा सम्झौता रद्द गर्ने भनी मन्त्रीपरिषद् बैठकले केही दिन अघि निर्णय गरेको थियो । नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि जग्गा भोगाधिकार दिने निर्णय पुर्र्नविचार गर्न माग गरिसकेको छ । यद्यपी लामो समय बित्दा समेत उक्त जग्गामा कुनै संरचना नबनाएका कारण जग्गा सम्झौता खारेज गर्नुपरेको सरकारको दावी छ ।

आज बसेको बोर्ड बैठकले नगर बस सञ्चालनका लागि कार्यविधि बनाउन बिधायिका समितिलाई अधिकार दिएको छ । सातवटा नगर बस खरिद गरी ल्याइसकेपनि कार्यविधि नबन्दा सञ्चालन हुन नसकेको छैन । आजको बोर्ड बैठकले पत्रकार गोविन्द शर्मालाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ । शर्मा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिक, उज्यालो मिडिया र लोकप्रिय सन्देश दैनिकमा कार्यरत पत्रकार हुन ।

प्रकाशित मितिः     ४ श्रावण २०७६, शनिबार १४:३१  |