नेपालगञ्ज – नेपालगञ्ज भञ्सार नाका हुँदै गत आर्थिक वर्ष २०७५/७६ मा मात्र रु ६ अर्व ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । कुनै बेला यही नाका हुँदै बाँके र बर्दियाबाट ठुलो मात्रामा चामल निर्यात हुन्थ्यो । तर केही दशकयता वर्षेनी करोडौ चामल भारतमा आयात हुँदै आएको छ ।
नेपालगञ्ज भञ्सार कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सबैभन्दा धेरै बस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ । उक्त आर्थिक वर्षमा १ लाख २४ हजार २ सय ७० मेट्रिक टन चामल आयात भयो । उक्त परिमाणको चामल आयात गर्दा साढे ५ अर्ब नेपालगञ्ज नाकाबाट मात्र बाहिरिदा सरकारको खातामा रु ५ करोड भञ्सार राजश्व संकलन भएको छ ।
बाँके र बर्दियालाई अन्नको भण्डार भनिन्छ । यहाँ उत्पादन हुने ठुलो मात्राको धानकै कारण ठुलो लगानीका चामल मिल सञ्चालनमा थिए । तर धान उत्पादन घटेसंगै मिल बन्द छन् । चामलको बिदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । नेपालगञ्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसंगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ताहरु बताउँछन् ।