बाँकेका होटलमा ‘बिजनेश’ घट्यो, सञ्चालक भन्छन्–‘ब्याज तिर्न मुस्किल पर्छ’


नेपालगञ्ज – ‘बिजनेश’ नपाएपछि बाँकेका होटल सञ्चालकहरु लगानी डुब्ने होकी भन्ने चिन्ताले झस्किएका छन् । मुनाफा आर्जन गर्ने बेला उल्टो सावाँ र ब्याज तिर्न समेत मुस्किल हुने गरी बिजनेशमा खडेरी लागेको उनीहरुले बताए । होटल व्यवसायीहरुको यस्तो चिन्ता अनौपचारिक हुँदै औपचारिक ‘फोरम’ मा प्रकट हुन थालेको छ ।

होटल व्यवसायी संघ, बाँकेले यस्तै चासो र चिन्ताका बिषयलाई बहसमा लैजाने उदेश्यले आईतबार ‘होटल व्यवसायीका बर्तमान समस्या र समाधानका उपाय’ बिषयक बृहद अन्तरक्रिया आयोजना गर्यो । उक्त अन्तरक्रियामा सहभागि होटल व्यवसायीको एउटै आवाज थियो,–‘बाँकेको होटल व्यवसाय हिजो जस्तो रहेन् । हिजो फलिफाम थियो अहिले धरासायी बन्ने अवस्थामा पुगेको छ ।’

संघीयता सहित ठुलो राजनीतिक परिवर्तन भएसंगै देशभर खुसियाली छायो । तर नेपालगञ्जलाई त्यो खुसियालीले छुन नसकेको बताउँदै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले भने,–‘देशका अरु ठाउँ नयाँ उर्जाका साथ अगाडी बढ्दा, नेपालगञ्जमा हामी भने निरास हुनुपरेको छ । त्यसको असर सबै भन्दा धेरै होटल व्यवसायलाई परेको छ ।’

उत्साहप्रद बन्दै गएको होटल व्यवसाय एकाएक किन निरासाजनक भयो त ? होटल सञ्चालकहरुले प्रदेश विभाजनसंगै बाँकेबाट सरकारी तथा गैर सरकारी कार्यालयलाई अन्यत्र तितरबितर पार्नुलाई ठानेका छन् । यहाँ रहेका कयौं सरकारी तथा गैरसरकारी कार्यालय कि त सुर्खेत गएका छन् कि त बुटवल सारिएका छन् । ‘यहाँ रहेका कार्यालयहरु धमाधम अन्यत्र सारियो । जसको परिणाम हिजो नेपालगञ्जका होटलमा बास नपाएर पाहुनालाई कोहलपुर लैजानुपथ्र्यो तर आज मान्छे नपाए होटल खाली राख्ने अवस्था आएको छ ।’– होटल व्यवसायी संघ बाँकेका तर्फबाट अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै पूर्व बरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार नारद पुरीले भने ।

कार्यक्रममा प्रदेश ५ का सांसद आईपी खरेल, मोहमद याकुव अन्सारी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमसेर राणा, नेपाली काँग्रेस बाँकेकी अध्यक्ष किरण कोइराला, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी प्रमुख बीरबहादुर ओली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले, होटल व्यवसायी महासंघ बाँकेका पूर्व अध्यक्ष दिपेन्द्र जोशी लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रमुख केशव न्यौपाने, होटल सोल्टीका महाप्रबन्धक इन्द्र खड्का लगायतको सहभागिता रहेको थियो । बिजनेश नपाएपछि ठुलो लगानीका तारे होटल सबैभन्दा धेरै प्रभावित हुन थालेका छन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद, नेपालगञ्जका मेयर, होटल तथा अन्य क्षेत्रका उद्योगी, व्यवसायीले यहाँको समग्र जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन सक्रिय हुनुपर्ने अन्यथा लगानी जोखिममा पर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः     ५ श्रावण २०७६, आईतवार १७:१८  |