यस्ता छन् बाँकेको होटल क्षेत्रका १५ चुनौती


अतिथि देवोः भवः भन्ने मुल सेवाभावका साथ देशका बिभिन्न क्षेत्रबाट बाँकेमा आई होटल लगायतका अन्य ब्यवसाय संचालन गरेका हामी ब्यवसायीहरु पछिल्लो समय बाँकेको खस्कँदो ब्यापार ब्यवसायका कारण चिन्तित छौ ।  भारतीय सिमावर्ती सहर नेपालगन्ज, पवित्र बागेश्वरीको परिसरमा पुरानो बजार र ऐतिहासिक शहर भनेर चिनिएको छ । नेपालगन्ज शहरमा ग्राहकको सन्टुष्टी नै हाम्रो धर्म भन्ने सेवाभावका साथ ब्यवसायिक हक हित र पेशालाई मर्यादित र सम्मानित गराउने उद्देश्यका साथ छाता संगठनको रुपमा होटल व्यवसायी संघ २०५४ सालमा स्थापना गरेर वामे सर्दै युवा अवस्थामा आइपुगेका छौ ।

बडो संबेदनशील, बडो जटिल, बडो गरम नरम, श्रमयुक्त व्यवसायी, सामाजिक अपराध, विकृति विसंगति कानुन विपरित हिड्ने व्यक्तिको संगत र बासस्थान देखि राष्ट्रको भविष्य निर्माण गर्न रेखाङकन गर्ने आर्थिक उन्नति मेरुडण्ड खडा गर्ने ढाकेकालाई बास दिने झुकेकालाई गास दिने राष्ट्र निर्माणमा सहयोग गर्ने यो हाम्रो होटल व्यवसाय अन्य व्यवसायिक भन्दा पृथक रुपमा चिन्दछौ । र हामी यो व्यवसायीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाई देश भित्र पनि प्रादेशिक रुपमा कसरी अगाडी बढ्ने र व्यवसायीलाई र स्थानलाई कसरी चिनाउने भन्ने बारे चिन्तित हुन सबैलाई आग्रह गर्दछौं ।

विगत २ दशकको इतिहासलाई फर्केर हेर्दा हामी समुन्नत नेपालको खोजीमा थियौ । गणतान्त्रिक देश बनेको र संविधानको निर्माण भएको दुई तिहाई बहुमतको सरकार भएको छ । देशमा समृद्धीको कुरा निस्केको छ । एउटा नया उर्जा साहसका साथ देश अगाडी लम्कीरहेको छ । तर विडम्बना, हिजोको हाई हाई नेपालगन्ज आज बाई बाई नेपालगञ्ज भइरहेको छ । सरकारी कार्यालय, तालिम केन्द्रहरु, गैरसरकारी संस्था, विभिन्न मानब अधिकारबादी संस्थाहरु धमाधम नेपालगन्ज छाड्दैछन् । हिजोका सयौका संस्थामा रहेका सरकारी तथा गैरसरकारी संस्थाको हव भएको स्थान आज उजाड भुमिमा परिवर्तन हुने जोखिम भएको छ । हिजोका होटलमा बास नपाएर नजिकको शहर कोहलपुर सम्म पठाइन्थ्यो भने आज यहीं नै भएका कोठाहरु भने धौ धौ भएको छ । कर्मचारीहरु तलब दिन धौ धौ भएको घर बहाल तिर्न धौ धौ भएको छ । बैंकको चर्को ब्याजले साँवा परै जावस ब्याज तिर्न नै कठिन भएको अवस्था नेपालगन्ज होटल व्यवसाय तथा सम्पुर्ण व्यवसायको अवस्था देखिन्छ ।

के हाम्रो संघीयता नेपालगन्जका लागि अभिश्राप भएको हो त ? के हामीले नेपालको आमुल परिवर्तनका लागि गरेको पहिलो दोस्रो जन आन्दोलन देखि जनयुद्ध सम्मका परिवर्तन गल्ती गरेका हौ ? आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरेका हांै ? त यो प्रश्न आज सम्पुर्ण अतिथि लगायत विशिष्ट व्यक्तित्वमा प्रश्न राख्न चाहन्छौं ।  नेपालगन्जको परिवेशलाई मध्यनजर गर्दैे यस व्यापार घाटा बढ्दो क्रमलाई सम्झेर चिन्ता लिने अवस्था आयो कि आएन यस विषय बस्तु गम्भीरतापुर्वक लिने कि नलिने हुन त कुरा गर्दा भाषण गर्दा बाके जिल्लाको भविष्य संगै जोड्ने यो नेपालगञ्ज थुप्रै सम्भावना सम्भावनाकै शहर देखिन्छ ।

हिन्दु,मुस्लीम,शिख, बौद्ध धर्महरुको सामाजिक सद्भावको शहर बनेर नेपालकै साम्प्रदायिक सद्भाव शहरको रुपमा चिनिन्छ, नेपालगन्ज । यहाँ प्रसिद्ध शक्ति पीठ बागेश्वरी मन्दिर जहाँ सति देवीको जिब्रो खसेर शक्ति त्रपित देखिएको इतिहास भेटाउछौ । पुर्व पश्चिम राजमार्ग, हवाई मार्ग भारतीय अन्तर्राष्ट्रिय नाका, मानसरोबर भाषा उद्गम स्थल, खप्तड, साइपाल आदि भाषा उद्गम स्थल, बाजुरा बडिमालिका नेपाली भाषाको उत्पति स्थान सिंजा, कर्णालीका रमणीय स्थान जाने दैलेख ज्वाला मन्दिर, सुर्खेतको ऐतिहासिक स्थान काक्रेविहार, बर्दियाको ठाकुरद्धारा, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके निकुन्ज लगायत कति हो कति गौरबमय स्थान हाम्रो नेपालगञ्जबाट सजिलै पहुँचमा छन् ।

तमाम चुनौतीबीच पनि होटल व्यवसायीहरुको छाता संस्था, होटल व्यवसायी संघ नेपालगन्ज बाँकेले कसरी यहाँको व्यवसाय प्रवद्र्धन गर्न सकिन्छ भन्नेमा निरन्तर क्रियाशील छ । आजको कार्यक्रम त्यसैको एउटा कडी हो । हामी छिट्टै नेपालगन्जमा फुड फेष्टिबल पनि आयोजना गर्दैछौं । आगामी कार्तिक १– ५ न्यूरोड, नेपालगन्जमा गरिने उक्त फेष्टिबलमा साथ सहयोगको प्रतिबद्धता पनि खोजेका छौं ।

समस्या :

१. गैर कानुनी यातायात संचालनः

नेपालका विभिन्न जिल्लाहरुबाट भारतका विभिन्न जिल्लाहरुबाट भारतका विभिन्न शहरमा जाने यातायातको साधनलाई हामीले अवैध मानेका छांै । यो सम्बन्धित निकायलाई थाहा होला हाम्रो भ्रम पनि हुन सक्छ । हाम्रो बुझाईमा पर्यटकीय प्रवेश कार्ड लिएका यातायातका साधनहरुले तिर्थ यात्री तथा प्रर्यटक बाहेक अन्य यात्रीहरुलाई गाडीमा राखिनु हुन्न यदि संचालन गर्नु नै छ भने कानुनी रुपमा संचालन गरियोस यथा सिघ्र खारिज गरियोस । कानुनीनै रुपमा पनि सिमावर्ती सहर भन्दा भित्र भारतीय बस व्यवसायिक रुपले चलाउन नमिल्ने व्यवस्था कडाइका साथ लागु गरियोस् ।

२. व्यवसायिक विच अस्वस्थ प्रतिस्पर्धा : कोहलपुर जमुनाह र जमुनाह कोहलपुर चल्ने नगरका साधनहरुलाई सोझो कोहलपुर जमुनाह चल्ने भएकोले बसपार्कका होटल व्यवसायीहरु जमुनाह बाट आफ्ना परिचीत यात्रीहरुलाई ल्याउने गरेको छ । यसरी परिचीत यात्रुहरुलाई ल्याउदा जमुनाहमा असान्दर्भिक भिडभाड हुने र अस्वस्थ्व प्रतिस्पर्धाको व्यवसाय संचालन भएको देखिन गएकोले सो साधनहरुलाई जमुनाह बसपार्क हुदै कोहलपुर पठाईदिदा र कोहलपुरबाट पनि बसपार्क प्रवेश गराई जन्म पाउँदा हाम्रो ब्यवसायीको अवस्था प्रतिस्पर्धा हुने अवस्था आउँछ र हामी हाम्रा ब्यवसायीलाई पनि विज्ञापन र प्रचार प्रसार र स्वच्छ प्रतिस्पर्धा गरियोस सुझाव दिन चाहान्छु ।

३. अव्यवस्थित ट्राफिक –
हामी चाहान्छौ खुल्ला सडक होस सडक पेटीमा कोही कसैले पनि ठेला गाडा नराख्न पेटीमा पैदल छेउमा कसैले गाडी घोडा तथा ब्यक्तिगत सामाग्री हुनु हुँदैन के यो सम्भव छ यो सम्बन्धित निकाय संगको प्रश्न हो ? हामी देखि रहेका छौ फर्निचर सामाग्री पेटी भन्दा सडक छापेको छ । यातायात का साधनहरु अब्यस्थित पार्किङ्ग भएका छन । ब्यक्तिगत नातावाद सहकार्यमा ट्राफिक नियम कायम भएको हामीले देखेका छौ । यसको विरोधी हामी छौ र कानून सम्मत र नियम सम्मत ट्राफिक नियम पालना गरियोस् यहि हाम्रो बुझाई छ ।

४. वातावरणीय प्रदुषण
स्वच्छ र हराफर शहर बनाउने शहर बनाउने निति अन्र्तगत सडक छेउमा वातावरणीय प्रदुषण स्थानिय कानुन बमोजिम कार्यन्वयन गरी बातावरण प्रदुषण रोक्न हामी अनुरोध गर्न चाहान्छौ र हामी केहि रेष्टुरेन्ट संचालन गरी रेष्टुरेन्ट ब्यवसाय हरुलाई सेकुवा पोल्न वातावरण प्रदुषण हुन्छ यहाँहरु आधुनिक चुलोको प्रयोग गरी आफ्नो व्यवसाय संचालन गरी गर्न सुझाव दिन चाहान्छौ ।

५. बाँके जिल्लामा पर्यटकीय क्षेत्र तथा हाम्रा धार्मिक क्षेत्रहरुको पहिचानमा लगानी नहुनु, भएकै क्षेत्रको पनि पर्याप्त प्रचार प्रसार नहुनु ।
धार्मिक तथा पर्यटकीय  बाँके सम्भावित क्षेत्रहरुमा पहिचान र प्रचार प्रसारमा वर्तमान तिनै तहका सरकारहरु उदासिन भएको देख्छौ । कुनै पनि बाह्य तथा आन्तरिक पर्यटकले रमाइलो स्थानमा रमणीय स्थानको सोध्दा हामी नाजवाफ हुन्छौ, बागेश्वरी मान्दिरका गुरु योजना अनुसार कार्यकलाप गर्नमा यहाँ थुप्रै धार्मिक सम्पदाको प्रचार प्रसार का लागी उचित बजेट प्रबन्ध नहँुदा सम्भावित कुराहरु पनि ओझेलमा परेका छौ । होटल ब्यवसायी ंसंघ पर्यटकीय क्षेत्रको सरोकार राख्ने निकाय भएकोले आगामी दिनहरुमा सम्बन्धित निकायको ध्यान जाओस् । यसका लागि पर्यटकीय निकाय संग संघ हातेमालो गर्न चाहन्छ ।

६. प्रदेश सरकारले राजधानीको टुङ्गो नलगाउनु

अस्थायी राजधानीको रुपमा बुटवललाई सिमित राख्दा बाँके बर्दिया कोल्टामा परेका छन । नेपालगञ्ज एउटा पुुरानो शहर र राजधानीको उपयुक्त संरचना हँुदाहँुदै पनि नेपालगन्जलाई छाँयामा पारेर यहाँका कार्यालय, संघ संस्थाहरु राजधानी केन्द्रित भएका कारण नेपालगञ्जको ब्यवसायमा हस आएको छ । यथासिघ्र राजधानीको टुङ्गो लगाइयोस् । नेपालगन्जनै प्रदेश राजधानीका लागि उपयुक्त हो भन्ने हाम्रो ठम्याई पनि हो ।

७. सरकारी तथा गैर सरकारी संस्थाहरु अन्यन्त्र जानु
संघीयताको संरचना अनुसार नेपालगन्ज रहि आएका, सामाजिक क्षेत्र मा काम गर्दे आएका संघ संस्थाहरु गाउँपालिका र राजधानी केन्द्रित हँुदा हामी ब्यवसायीहरु मर्कामा परेको महसुस भएको छ । तत्काल यहाँ कार्यक्षेत्र भएका कुनैपनि कार्यालयहरु पूर्ववतः नेपालगन्जमै रहने व्यवस्थाको सुनिश्चितता गरियोस् ।
८. सरकारको अब्यवहारिक करको निती
नेपाली जनता तथा हामी सम्पूर्ण व्यवसायी पनि सरकारी करको नीतिमा स्पष्ट भएका छैनांै । करको परिभाषा बुझ्न सकेका छैनांै । यसैमा सरकारले हामी ब्यवसायीलाई विभिन्न करको चेपुवामा पार्दा ब्यवसायी धराशयी हुन्छ डर लाग्ने अवस्था छ । त्यसैले यस्ता खाले अव्यवहारिक करका नीति फिर्ता गरियोस् भन्ने हामो माग छ ।
९. लागु पदार्थ दुब्र्यसनको समस्या
ख्ल्ला सिमानाका कारण भारतीय नाकाबाट लागुपदार्थको ओसार पसार का कारण यहाँका युवाहरु दुब्र्यसनी, यौन विकृती एक समस्याको रुपमा रहेको छ ।
भारतबाट कमाई गरेर आएका कतिपय यात्रुहरु लागु पदार्थ खुवाएर बेहोस पारेर लुट्न कार्य नरोकिएकोले यस्ता कार्यको अन्त्य गरिनु पर्दछ । सुरक्षा निकायको ध्यान त्यसतर्फ पुगोस् ।
१० भ्रमण बर्ष २०२० र लुम्बिनी बर्ष २०७६ प्रचार प्रसार कमी
सरकारले निर्धारण गरेको भ्रमण बर्ष २०२० लुम्बिनी बर्ष २०७६ को सरोकारवाला र सम्बन्धित निकायसंग छलफल नै नगरी घोषणा गरे जस्तो महसुस हामीले गरेका छौं । यसको कार्यान्वयन पक्ष र सरोकारवालासंगको सहकार्यमा जोड दिई पर्यटन र ब्यवसायको बिकाशमा ध्यान दिन जरुरी छ । प्रदेश सरकार र संघीय सरकारले यी दुबै अवसरमा नेपालगन्ज क्षेत्रलाई पनि समावेश गरोस् । सोही अनुसार प्रचारप्रसार योजना बनाइयोस् ।
त्यसका लागि तत्काल नेपालगन्जबाट भइरहेका आन्तरिक उडानलाई व्यवस्थित गर्दै, नेपालगन्ज– पोखरा, नेपालगन्ज– भैरहवा उडान तत्काल व्यवस्था गरियोस् । साथै, यसबारे गरिने कार्यक्रमहरु राजधानी केन्द्रीत नगरि नेपालगन्जका लागि कार्यक्रम दिने व्यवस्था गरियोस् ।
११. पर्यटक प्रहरी र पर्यटन सुचना केन्द्र
सरकारले पर्यटकीय क्षेत्रको बिकासको लागी आवश्यक बजेट ब्यवस्थापन गरी बाँके पर्यटन सुचना केन्द्रको भवन बनाउन अति आवश्यक छ । यसै गरी पर्यटन प्रहरीको अभाव देखिएको यसको कार्र्यान्वयन तर्फ ध्यान जान आवश्यक देखिन्छ । पर्यटकीय नगरीका रुपमा विकसित नेपालगन्जका लागि पर्यटक प्रहरी बनाइनुपर्छ ।
१२. कार्यान्वयनको अभाव
अन्तर्राष्ट्रिय सभा गृह, अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगन्ज– दिल्ली उडान, नेपालगन्ज रिङरोड, सुख्खा बन्दरगाह जस्ता कुराको उठान हुने तर कार्यान्वयन नहुने अवस्थाको अन्त होस् ।
१३. बैंक ब्याजबारे निरन्तर व्यवसायिक क्षेत्रबाट व्यक्त भइरहेका असन्तुष्टिहरुको सम्बोधनमा सम्बद्ध निकायको ध्यान जाओस् । बैंक ब्याजको अनिश्चितताले होटल क्षेत्र पनि निरन्तर मारमा छ । यो अवस्थाको अन्त गरिनुपर्छ ।
१४. चालु आर्थिक वर्षबाट सरकारले अघि सारेको प्यान, भेइकल ट्रयाकिङ सिष्टम लगायतका व्यवस्थाहरुको तत्काल कार्यान्वयनमा आइरहेको जटिलतालाई ख्याल गर्दै सुसूचित र सशक्तिकरण तथा सरलीकृत गर्दै क्रमशः लागु गर्ने विषयमा सरकारको ध्यान जाओस् ।
१५. व्यवसायिक नीतिमा फेरबदल गरिरँदा आइपुग्ने जटिलताबाट हामी व्यवसायीहरु मर्माहत छौं । अतः स्थीर व्यवसायिक नीति बनाइयोस् । ताकि लगानीको सुरक्षासँगै व्यवसायिक सुदृढिकरण सम्भव होस् ।

( होटल व्यवसायी संघ, बाँकेले आईतबार नेपालगञ्जमा आयोजना गरेको ‘होटल व्यावसायीका बर्तमान समस्या र समाधानका उपाय’ बिषय अन्तरक्रियामा संघका तर्फबाट बरिष्ठ सल्लाहकार नारद पुरीले प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अंश हो । संघका अध्यक्ष भिमलाल कँडेलले व्यवसायीक समस्या समाधानका लागि बहसको शुरुवात भएको र आगामी दिनमा थप निरन्तरता दिने बताएका छन् ।)

https://nepalgunjbusiness.com/2019/07/9268/

प्रकाशित मितिः     ६ श्रावण २०७६, सोमबार ०८:३४  |