ढुवानी ठप्प, बजारमा अत्यावश्यक सामानको अभाव हुन थाल्यो


नेपालगञ्ज – सरकारले साउन १ देखि ‘भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) लागू गर्ने घोषणासँगै देशभर ढुवानी ठप्प भएको छ। नेपालगञ्जबाट अन्यत्रबाट सामान आउन सकेको छैन भने यहाँको सामान अन्त जान सकेको छैन । तीज जस्ता पर्वहरु नजिक आएकाले कच्चा पदार्थ आउन सकेको छैन भने उत्पादन भएका सामाग्री बिक्री हुन सकेको छैन ।

देशभरको ढुवानी व्यवसाय ठप्प हुँदा बजारमा सामान रित्तिँदै गएको छ । केही दिनसम्म यस्तै रहे पसल नै बन्द गर्नु पर्ने अवस्था आउनसक्ने थोक बिक्रेताको भनाइ छ। सरकारले घोषणा गरेको भिसिटिएस प्रणालीमा तत्काल जान नसकिने भएकाले ढुवानी थन्काएर बस्नु परेको भेरी ढुवानी एशोसियसनका अध्यक्ष त्रियोगी अग्रवालले बताए । उनले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने जानकारी दिए ।

‘अहिले देशभरि नै सबै मालबाहक गाडी थन्काइएको छ,’ अग्रवालले नेपालगञ्ज बिजनेशसँग भने, ‘गाडी चलाउन नसक्ने भएपछि थन्काएर राखेका हुन्।’ सरकारले साउन एकदेखि नै राजस्व चुहावट नियन्त्रणका लागि वेबमा आधारित भिसिटिएस कार्यान्वयनमा ल्याउने घोषणा गरेको थियो।

सामान ढुवानी गर्दा राजस्व अनुसन्धान विभागकोे वेबसाइटमा अनिवार्य रुपमा विवरण भर्नुपर्नेछ। उक्त प्रणालीमा गएपछि सबै ढुवानी व्यवसायी भ्याटमा दर्ता हुनुपर्ने छ। सबै चालक–सहचाकलले प्यान नम्बर प्रयोग गरेर बैंकिङ प्रणालीबाट तलबसहित अन्य कारोबार गर्नु पर्नेछ। अहिले गाडी सञ्चालन जसरी भएको छ त्यसले गर्दा यस प्रणालीलाई आजकै मितिबाट लागू गर्न नसकिने उनको तर्क छ। एक गाडी सञ्चालन गर्न दुई–तीन पक्ष संलग्न भएकाले तत्कालै भिसिटिएसअनुसार करमा जान नसकिने उनको भनाइ छ।

प्रकाशित मितिः     ६ श्रावण २०७६, सोमबार ११:४८  |