नेपालगञ्ज -नेपालगञ्ज उपमहानगरपालिको उप–मेयर उमा थापामगरले प्रविधिको प्रयोगमा आमनागरिकहरु अझै अभ्यस्त हुन नसकेको बताएकी छन् । कम्प्युटर एशोसियशन नेपाल महासंघ, बाँकेले मंगलवार आयोजना गरेको डिजिटल बित्तीय सेवा सम्बन्धी अन्तरक्रियामा उप–मेयर थापाले ‘आमनागरिकलाई सूचना प्रविधिका बारेमा जानकारी गराउन’ आवश्यक परेको उल्लेख गरिन ।
‘नेपालगञ्जलाई सूचना प्रविधिमैत्री बनाउन एप्स, वेयभसाईड लगायतको व्यवस्था गरेका छौं । तर त्यसका माध्यमबाट थोरै मात्र सेवाग्राहीले सेवा लिइरहनुभएको छ । यसमा हामी सन्तोष मानिरहेका छैनौ ।’ उप–मेयर थापाले भनिन्–‘सूचना प्रविधिका बारेमा अभ्यस्त हुन बाँकी नै रहेछ ।’ उपमेयर थापाले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोग लिएर यसका बारेमा जनचेतना फैलाउने जानकारी दिइन ।
कार्यक्रममा बोल्दै क्यान महासंघ केन्द्रीय सदस्य आईपी पोखरेलले सूचना प्रविधि बिना देशले चाहेको सम्बृद्धि आउन नसक्ने बताए । उनले भने,–‘सूचना प्रविधिमैत्री बन्न नसके हामी पछि पर्छौ । अगाडी बढ्नै पर्छ ।’ सुचना प्रविधिका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले बताए ।