नेपालगञ्ज – तलब तथा ज्याला भुक्तानीमै समस्या आउने भएपछि स्थायी लेखा नम्बर (प्यान) लिने बढेका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा छ दिनको अवधिमा एक हजार १ सय ६५ जनाले व्यक्तिगत प्यान नम्बर लिएको छन् ।
सरकारले चालु बजेटबाट ‘एक ब्यक्ति एक लेखा नम्बर’ नीति लिएको छ । साउन १ देखि प्यान लागू भएयता दैनिक झण्डै दुई सय जनाले व्यक्तिगत प्यान नम्बर लिएको प्रमुख कर अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनले भने,–‘यो संख्या यस अघि दैनिक ३०÷४० को हाराहारीमा हुन्थ्यो ।’
सबैले प्यान नम्बर लिनु पर्ने ब्यवस्था गरेपछि सरकारले आन्तरिक राजश्व कार्यालय र करदाता सेवा कार्यालयहरुमा छुट्टै काउन्टर बनाएर प्यान वितरण गरिरहेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा सेवाग्राहीको चाप बढेपछि दश जना कर्मचारी खटाइएको छ । प्रमुख कर अधिकृत पौडेलले सेवाग्राहीलाई कुनै समस्या नआओस् भनेर कर्मचारीको व्यवस्थापन गरिएको बताएका छन् कार्यालयले राजश्वको वेवसाइटमा गएर प्यानको फारम भर्ने ब्यवस्था मिलाएको जनाएको छ ।
सरकारको नयाँ घोषणासँगै साउन १ गतेबाट प्यान बिना तलब तथा १००० रुपैयाँभन्दा माथिको ज्याला भुक्तानी गर्न पाइँदैन । प्यान नलिएको अवस्थामा भुक्तानी गरेमा त्यसलाई सरकारले खर्च नमान्ने ब्यवस्था गरेको छ। यसो हुँदा भुक्तानी गरेको ब्यक्ति तथा संस्थाले आयकर बढि तिर्नु पर्ने हुन्छ ।