बाँकेमा दुईवटा सुविधा सम्पन्न बसपार्कको काम अन्तिम चरणमा, सञ्चालन कहिले ?


नेपालगञ्ज -बाँकेको नेपालगञ्ज र कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न बसपार्क तयार भएका छन् । तर बिभिन्न कारणले गर्दा बसपार्क सञ्चालन कहिले हुन्छ भन्ने एकिन छैन । ठेकेदार कम्पनीले भने जस्तो गरी काम गरेको भए यतिबेला बसपार्क सञ्चालनमा आईहाल्थ्यो तर त्यो हुन सकेन । नेपालगञ्ज उपमहानगरपालिकाले अबको १५ दिनभित्र बसपार्क सञ्चालन गर्ने बताएको छ ।

कोहलपुर बसपार्क ।

बसपार्कको निर्माणको काममा ढिलाइ हुँदा सवारी साधन पार्किङमा समस्या छ । सडकमै पार्किङ गर्दा जाम हुने गरेको छ । उक्त बसपार्कबाट दैनिक करिब ५ पाँच सय साना–ठूला सवारी साधन आउजाउ गर्छन् । सवारी साधनबाट दैनिक २० देखि १ सय रुपैयाँ शुल्क लिने गरिएको छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण सुरु गरिएको हो ।साढे चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण हुने छ  ।

नेपालगञ्ज बसपार्क ।

त्यस्तै कोहलपुरमा पनि अत्याधुनिक बसपार्क तयार भइसकेको छ । तर निर्माण सम्पन्न भएको आधुनिक बसपार्क ब्यापारीहरुबीचको आन्तरिक द्धन्दका कारण सञ्चालनमा आउन सकेको छैन । कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दुमा रहेको कोहलपुर बसपार्क संचालनमा नआउँदा यात्रु र स्थानीय व्यापारीहरु समस्यामा परेका छन् । निर्माण शुरु भएको तीन देखि ६ महिना सम्म सम्पन्न गर्ने योजनाका साथ बसपार्क निर्माण कार्य अगाडी बढाईएको भएपनि वर्ष्दिन बित्दा समेत संचालनमा नआउँदा स्थानयी आक्रोशित बनेका छन् ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बसपार्कको काम करिब अन्तिम चरणमा पुगेकोले केही समयमा नै संचालनमा आउने जानकारी दिए । दुई पक्षीय विवादका कारण बसपार्कको बिषयलाई लिएर अदालतमा मुद्दा दायर भएको छ ।

प्रकाशित मितिः     ७ श्रावण २०७६, मंगलवार १७:३७  |