इट्टामा आत्मनिर्भर बाँके : कर्णालीसम्मलाई पुग्छ,बाबागञ्जको इट्टा ल्याउन उहिल्यै बन्द


तस्वीर सौजन्य : समरत खान

नेपालगञ्ज – २०६४ साल अघिसम्म बाँकेमा भारतको बाबागञ्जबाट इट्टा भित्रिन्थ्यो । त्यहाँबाट ल्याएका इट्टाबाट यहाँका धेरै घर बने । बाबगञ्जको इट्टाले सुर्खेतसम्म बजार लिएको थियो । भारतीय इट्टा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोंचाई बन्न थालिसकेको ती दिन अब भने एकादेशको कथा सावित भएका छन् ।

एक दशकयता भारतीय इट्टा बाँके भित्रिन छाडेको नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँ बताउँछन् । ‘स्थानीय उत्पादनले पुगेको छ । बाहिरबाट ल्याउनुपरेको छैन’– अध्यक्ष खाँ भन्छन् । स्वदेशी इट्टा उद्योगीले भारतीय एकाधिकार तोडेका छन् । बाँके इट्टा उद्योगमा आत्मनिर्भर बनेको छ । यहाँ उत्पादन भएको इट्टाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको बताउँदै खाँ भन्छन्,–‘स्वदेशी उत्पादनबाट आत्मनिर्भर हुने उद्योगमा इट्टा नै होला !’

बाँके इट्टा व्यवसायी संघमा ४२ वटा उद्योग सदस्य छन् । यि सबैमा उद्योगले वार्षिक करिव ८ करोड इट्टा उत्पादन गर्छन । यहाँ उत्पादन भएका इट्टा बाँकेको स्थानीय बजार र कर्णाली प्रदेशका सबै जिल्लामा पुग्ने गरेको इट्टा उद्योग व्यवसायी संघका प्रदेश नं. ५ का उपाध्यक्ष देव बहादुर ओली बताउँछन् । बजार बढ्दै गएको जानकारी दिदै उनी भन्छन्,–‘निर्माणका काम बढेसंगै इट्टाको माग पनि बढेको छ ।’

व्यवसायीक छलफलमा व्यस्त इट्टा व्यवसायी ।

इट्टा उद्योग मौसमी उद्योग हो । माघदेखि बैशाखसम्म चल्छ । पानी पर्ने बर्षा मौसममा उद्योग बन्द हुन्छ । ‘चार÷पाँच महिना चलेको उद्योगले वर्षभर धान्नुपर्छ ।’– संघका सचिव टंक बुढाथोकी भन्छन्,–‘उत्पादन नभएको समयमा पहिले उत्पादन गरेका इट्टा बिक्री गर्छौ ।’ बर्षा छिटो शुरु भयो भने उत्पादन समय घट्छ । जसले गर्दा उत्पादनमा कमी आएर अभावसम्म हुने गरेको बुढाथोकी बताउँछन् ।

इट्टा उद्योगले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेल्छन् । एउटै उद्योगमा झण्डै ५० जनाले रोजगारी पाउँछन् । रोजगारी पाउनेमा नेपाली मात्र होइन भारतमा समेत छन् । ‘सिजनका बेला संयौ जनाका लागि रोजगारी सिर्जना गर्छौ ।’– अध्यक्ष खाँ भन्छन्,–‘उत्पादनको सिजन नभएका बेला भने घट्छ ।’ रोजगारी सिर्जना मात्र होइन सरकारका लागि राजश्वमा समेत महत्वपूर्ण भूमिका निभाउँदै आएका छन् । राम्रो चलेको उद्योगले १० लाख देखि २० लाखसम्म वार्षिक राजश्वमा योगदान दिने गरेको व्यवसायीहरु बताउँछन् ।

जैनुल खाँ : अध्यक्ष इट्टा उद्योग व्यवसायी संघ, बाँके

इट्टा उद्योगीका लागि मौसम, बैंकको चर्को ब्याजदर, कच्चा पदार्थ र पछिल्ला आर्थिक नीतिहरु चुनौतीका रुपमा रहेको प्रदेश उपाध्यक्ष ओलीले बताए । उनी भन्छन्,–‘राजश्व र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेले पनि हामीलाई हेर्ने नजर राज्यको फरक छ ।’ ओलीले काँचो इट्टाको बिमा नहनु पनि आफुहरुका लागि चुनौती रहेको बताए । संघका अध्यक्ष खाँ बाँकेका इट्टा उद्योगहरु नयाँ प्रविधिमैत्री बन्दै गएको बताउँछन् । उनी भन्छन्,–‘केही वर्षमै बाँके जिल्लाको इट्टा उद्योग क्षेत्रले ठुलो फड्को मार्छ ।’

इट्टामा भारतीय एकाधिकार तोड्न यहाँ उद्योगीले धेरै मेहेनत गर्नुपरेको थियो । लामो समय आन्दोलन भयो । मुख्य नाकाबाट आयात बन्द भए पनि चोरी नाकाबाट आउन थालेपछि त्यसका लागि पनि खबरदारी गरिएको सम्झदै अध्यक्ष खाँ भन्छन्,–‘अहिले अबस्था फरक छ । यहीको उत्पादनले पुग्छ ।’

प्रकाशित मितिः     ८ श्रावण २०७६, बुधबार ०७:४२  |