पैसा भूक्तानी नगर्ने डिलरलाई कालोसूचीमा राखेर कारवाही गर्ने सिमेन्ट उत्पादन संघको निर्णय


काठमाडौं – सामान बिक्री गरेको पैसानै उठ्न छाडेपछि सिमेन्ट उत्पादक संघले भूक्तानी नदिने डिलरलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। संघले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सिमेन्टको रकम समयमा उद्योगलाई भूक्तानी नगर्ने बिक्रेताको सूचना संकलन गरेर कालोसूचीमा राख्ने जनाएको छ । संघले ती बिक्रेतालाई कुनैपनि उद्योगले सिमेन्ट उपलब्ध नगराउने स्पस्ट पारेको छ ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष धुब थापाका अनुसार पैसा नतिर्ने बिक्रेताको नाम संकलन भइरहेको र त्यसलाई कारवाहीका लागि सरकारी सहयोग समेत लिइनेछ ।‘हामीले ती बिक्रेताको नाम संकलन गरेर सबै उद्योगमा पठाउँछौं। सबै उद्योगले त्यो बिक्रेतालाई सामान बेच्न बन्द गर्नेछन’ बिजमाण्डु डटकमसंगको कुराकानीमा थापाले भने, ’ती बिक्रेताबाट रकम उठाउन बैंक तथा वित्तीय संस्थादेखि सरकारी निकायको सहयोग लिइनेछ।’

डन्डी उद्योगले पनि सूचना निकाल्दै
बिजमाण्डु डटकमका अनुसार सिमेन्टको जस्तै नियती डन्डी उत्पादकले समेत भोगिरहेका छन्। डन्डी उद्योगको पनि पछिल्लो समयमा बजारबाट पैसा उठ्न थालेको छ। सिमेन्टको जस्तै १२० दिनमा समेत पैसा उठ्न छाडेपछि डन्डी उद्योगले समेत कालोसूचीमा राख्ने तयारी गरिरहेको छ।

काठमाडौंबाट अन्यत्र पनि समस्या सर्दै
सुरुमा काठमाडौंमा उधारो रकम उठ्न छाडेको थियो। निर्माण सामाग्रीको सबैभन्दा ठूलो बजारबाट पैसा उठ्न छाडेपछि उद्योगीहरु समस्यामा परेका थिए। यो समस्या विस्तारै अरु क्षेत्रमा पनि बढ्न थालेको छ। उद्योगीका अनुसार काठमाडौको जस्तै समस्या पोखरा र चितवनमा समेत देखिन थालेको छ। ‘काठमाडौंको समस्यालाई सल्टाउन खोज्दाखोज्दै अन्यत्र समेत देखिन थालेपछि उद्योगी आत्तिएका थिए’ एक उद्योगीले भने, ’त्यही भएर उद्योगीले कालोसूचीमा राखेर कारवाही अगाडि बढाउने निर्णयमा पुगेका हौं।’

ती उद्योगीका अनुसार कुनै एउटा उद्योगले कारवाही गर्दा बिक्रेतालाई कुनै फरक नपर्ने र अर्को उद्योगको सामान बेच्ने भएकोले कठोर निर्णय गर्नुपरेको हो।

कालोसूची राख्ने संस्था खडा गर्दै
बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्नेहरुलाई कालोसूचीमा राख्ने कर्जा सूचना केन्द्रजस्तै संस्था स्थापना गर्ने योजनामा उद्योगी छन्। सरकारले समेत कारवाहीमा सहयोग गर्नेगरी कालोसूचीमा राख्ने संस्था खडा गर्ने निष्कर्षमा उद्योगी पुगेका हुन्। ‘अर्बौ रुपैयाँ लगानी गरेका उद्योग नै संकटमा पर्ने अवस्था आएपछि कालोसूचीमा राख्ने संस्था खडा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं’ ती उद्योगीले भने,’बदमासी गर्नेलाई रोक्न नसकिए यसले अर्थतन्त्रलाई समेत प्रभावित गर्छ।’

प्रकाशित मितिः     ८ श्रावण २०७६, बुधबार १४:०२  |