बाँके र सुर्खेतका बैंकमा निक्षेप भन्दा कर्जा धेरै, औद्योगिक क्षेत्र प्राथमिकतामा


नेपालगञ्ज – गत आर्थिक वर्ष २०७५/७६ को पहिलो छ महिना बैंक तथा वित्तीय संस्थाले बाँके र सुर्खेतमा निक्षेप र कर्जा लगानी बृद्धि गरेका छन् । यद्यपी  यि दुबै जिल्लामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन भन्दा कर्जा लगानी बढि देखिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले गरेको अध्ययन प्रतिवेदन अनुसार, बाँकेमा गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा बित्तिय क्षेत्रले रु ३७ अर्ब ८५ करोड ४० लाख निक्षेप संकलन गरेका थिए । तर बाँकेमा निक्षेप भन्दा धेरै अर्थात रु ५२ अर्ब २३ करोड ९७ लाख कर्जा प्रवाह भएको छ ।  बाँकेमा कुल कर्जा मध्ये सबैभन्दा धेरै औद्योगिक क्षेत्रमा छ ।

पश्चिम नेपालकै औद्योगिक हबका रुपमा रहेको बाँकेमा थप उद्योग खुल्ने क्रममा रहेका छन् । सोही कारणले पनि कर्जा प्रावह धेरै देखिएको हो । नेपाल राष्ट्र बैंक नेपालगञ्जले हेर्ने छ जिल्ला बर्दिया, दाङ्ग, सल्यान, सुर्खेत, जुम्ला मध्ये बाँकेमा सबैभन्दा भन्दा धेरै निक्षेप संकलन र कर्जा प्रवाह हुँदै आएको छ । बाँकेमा बैंक तथा बित्तीय संस्थाको संख्या सबैभन्दा धेरै छन् । यहाँ वाणिज्य बैंकको संख्या ६८, विकास बैंक ३५,वित्त कम्पनी ५ र लद्यु वित्त विकास बैंक ७० गरी कुल १ सय ७८ रहेका छन् ।

त्यस्तै सुर्खेतमा गत आर्थिक वर्षको पहिलो छ महिना अर्थात पुस मसान्तसम्म बैंक तथा वित्तिय संस्थाले रु १२ अर्ब ३९ करोड ३० लाख निक्षेप संकलन भएको छ भने रु १४ अर्ब ६७ करोड ८० लाख कर्जा प्रवाह गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाणिज्य बैंकको संख्या ३९, विकास बैंक ९, वित्त कम्पनी एक र लद्यु वित्त विकास बैंकको ४९ गरी जम्मा ९९ वटा रहेका छन् ।

प्रकाशित मितिः     ८ श्रावण २०७६, बुधबार १६:५६  |