
नेपालगञ्ज – नेपाल राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको छ।सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो। गभर्नर डा.चिरञ्जिबी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत व्यवस्था गर्ने जानकारी दिए ।भारतीय अध्ययन अनुसार, ब्याज आर्जन गर्ने गरी सुन राख्दाखेरी बैंकहरुको निक्षेप परिचालनमा सुधार भएको छ। ठ्याक्कै त्यही मोडेलमा अर्थमन्त्री खतिवडाले सुनचाँदी बैंकमा जम्मा गरेर ब्याज आर्जन गर्न सकिने ब्यवस्था गर्न खोजिएको हो।
आगामी बर्षको बजेट सार्बजनिक गर्दै उनले भनेका थिए, नेपाली नागरिकहरुले सम्पतिका रुपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा जम्मा गर्ने ब्यवस्था मिलाइने छ। सर्वसाधारणसँग घरमै रहेको सुनलाई बजारमा ’सर्कुलेट’ गरेर त्यसको ’भ्यालु’ लाई अनलक गरिने छ। यसो हुँदा सर्वसाधारणसँग के कति सुनचाँदी छ भन्ने अनुमान गर्न पनि सहज हुने छ।
सरकारले सुनलाई निक्षेपका रुपमा परिचालन गरेर तरलता प्रवाह गर्न मात्र खोजेको छैन, घर तथा विभिन्न ब्यवसायिक संस्थासँग रहेको ’होल्डिङ’ लाई प्रयोग गर्ने र आयातलाई निरुत्साहित गर्न पनि खोजिएको हो। मौद्रिक नीति सार्वजनिक गर्दै १५ लाख रुपैयाँसम्मको कृषि व्यवसाय कर्जा सात दिनभित्र दिनुपर्ने व्यवस्था गरेको छ।

यस्तो कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतमात्र थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने छ। यस्तो कर्जा दिँदा बैंकले कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा पनि अग्रिम भुक्तानी शुल्क लिन नपाउने व्यवस्था गरेको छ। बैंकका सबै शाखाले यस्तो कर्जाको निवेदन परेको मितिले सात दिनभित्र कर्जा दिइसक्नुपर्ने छ र कर्जा दिन नसक्ने भएमा कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने छ। अहिले देशभर बैंक तथा वित्तीय संस्थाका ८ हजारपाँच सय ६४ शाखा कार्यालय स्थापना भइसकेका छन्। त्यस्तै ७५६ स्थानीय तह मध्ये ७३२ स्थानीय तहमा बैंकको पहुँच पुगिसकेको छ।