नेपालगञ्ज -पोखरा उडान : ‘शुरु गरौं, बिजनेश आउँछ’


नेपालगञ्ज – नेपालगञ्ज– पोखरा उडानका लागि ‘मार्केट’को कमी नहुने भन्दै सरोकारवाला निकायका अगुवाले एयरलाईन्स कम्पनीलाई आश्वस्त पारेका छन् । एयरलाईन्स कम्पनीका प्रतिनिधिले ‘अप्रेशन कष्ट’ उठाउन नसक्ने चिन्ता प्रकट गरिरहंदा यहाँका जनप्रतिनिधि, होटल तथा उद्योगी, व्यवसायीले ‘प्रशस्त मार्केट’ पाइने भएकाले नेपालगञ्ज– पोखरा उडान शुरु गर्न आग्रह गरेका छन् ।

‘उडान शुरु भएको केही महिना पछि त्यस्तै मार्केट बन्छ । यसमा कसैले चिन्ता गर्नुपर्दैन ।’ होटल सिद्धार्थ भ्यूमा आज आईतबार आयोजित अन्तरक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले भने–‘मार्केटका लागि सबै मिलेर माहोल बनाउनतिर लागौं ।’ मेयर राणाले नेपालगञ्जलाई ‘ट्रान्जिट’ बनाएर पश्चिम नेपाल मात्र नभई पोखरा र काठमाण्डौंमा भारतीय पर्यटकलाई लैजान सकिने प्रशस्त सम्भावना रहेको बताए । उनले भने,–‘तर त्यसका लागि कसरी हुन्छ । फ्लाईट शुरु गर्नतर्फ लागौं ।’

पहिले बुद्ध एयरले नेपालगञ्ज– पोखरा उडान गर्ने चर्चा चलेको थियो । उक्त चर्चा सेलाएसंगै फेरी यति एयरले उडान भर्ने कुरा बहसमा आएको छ । नेपालगञ्जमा ‘बिजनेश’ बढाउन पोखरासंग सिधा हवाई सम्पर्क जोड्ने बिषयलाई यहाँ महत्वका साथ हेरिएको छ । नेपालगञ्ज–पोखरा हवाई उडानको चर्चा चल्दा भैरहवाबाट भने साउन १५ गतेबाट शुरु गर्ने यति एयरले सार्वजनिक सूचना नै जारी गरिसकेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्ज–पोखरा जस्ता घरेलु उडान शुरु गर्न नसके नेपालगञ्ज– दिल्ली उडान पनि हुन नसक्ने भन्दे चिन्ता व्यक्त गरे । बैश्यले भने,–‘घरेलुमै हामी सफल भएनौं भने कसरी अन्र्तराष्ट्रिय उडान गर्न सक्छौ ।’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले देशका बिभिन्न शहरसंग सिधा हवाई सम्पर्क गराउन सके नेपालगञ्जको विकासलाई फाईदा पुग्ने बिश्वास व्यक्त गर्दै अन्यथा कुरा गरेर मात्र केही नहुने बताए ।

छलफलमा सहभागि होटल व्यवसायीले नेपालगञ्ज–पोखरा उडानसंगै आफुहरुले पर्यटकिय पूर्वाधार प्रर्बद्धनमा महत्वपुर्ण भूमिका निभाउने उल्लेख गरे । भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै काठमाण्डौं र पोखरा घुमाउन सके बिजनेश बढ्ने उनीहरुले बताएका छन् । त्यसका लागि होटल व्यवसायी मात्र नभई सबैले प्रचार, प्रसारमा भूमिका खेल्नुपर्ने सुझाव दिइएको छ ।

एयरलाईन्स कम्पनीका प्रतिनिधिहरुले उडान शुरु भएपनि बिजनेशको अभावमा सञ्चालन खर्च नजुट्ने हाकी भन्ने चिन्ता व्यक्त गरे । बुद्ध एयरका नेपालगञ्ज प्रमुख बिनित शाहले सानो जहाज उडाउँदा टिकट महङ्गो हुने भएकाले यात्रुले प्रयोग नगर्ने अवस्था आउने बताए । उनले भने,–‘तत्काल ठुलो जहाज उडाउने सम्भावना देखिन्न् । सानो जहाज उडाउँदा टिकट महङ्गो पर्न जान्छ ।’ सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपानले नेपालगञ्ज– पोखरा उडानको बिषयमा शुरु भएको चर्चा अत्यन्त सकारात्मक भएको बताउँदै भने,–‘सबैको साथ र सहयोगमा यो चर्चा बास्तविकतामा परिणत हुने आश गरेका छौं ।’

प्रकाशित मितिः     १२ श्रावण २०७६, आईतवार १५:१९  |