कुमारी बैंकमा खाता खोल्दा परिवारकै बीमा हुने, एक लाखसम्मको औषोधोपचार


काठमाडौं। कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ खोल्दा २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ। बैंकले परिवारका कुनै एक सदस्यको खाता खोल्दा पूरै परिवारले बीमा सुविधा पाउने योजना ल्याएको हो। बैंकले नेपालमै पहिलो पटक प्रस्तुत गरेको यो खाता परिवारका बुबा अथवा आमाले खोल्न सक्ने छन्। बुबा आमामध्ये एकले खाता खोल्दा दम्पती सहित दुई जना छोरा छोरीले बीमा सुविधा पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए।

यस खाता अन्तर्गत परिवारका चारै सदस्यले १० प्राणघातक रोगहरुका लागि ५ लाख रुपैयाँसम्मको बीमा सुविधा पाउने छन्। दम्पतीले १०/१० लाख रुपैयाँको दरले २० लाख रुपैयाँसम्म आकस्मिक दुर्घटना बीमाका साथै पूर्ण शारिरिक अशक्तताको समेत बीमा सुविधा पाउने बैंकले जनाएको छ। यो खाता खोल्न न्युनतम १० हजार रुपैयाँ नगद मौज्दात हुनुपर्नेछ। बैंकमा यो नगद भएसम्मका लागि बीमा सुविधा पाइने भण्डारीले जानकारी दिए। निक्षेप सदस्यले उक्त नगदको वार्षिक ६.५ व्याजदर पाउने छन्। खाता धनीले बैंकले प्रदान गर्ने व्याजदर मध्ये सबैभन्दा धेरै व्याज पाउने छन्।

पछिल्लो समय बैंकहरुले निक्षेप सदश्य बढाउन विभिन्न स्किम ल्याउने गरेका छन्। कुमारी बैंकको यो बचत खाताधनी तथा उसको परिवारले पुर्ण रुपमा बीमाको सुविधा पाउने छन्। यस्ता सुविधा ल्याउदा बैंकको निक्षेपको व्याजदर केहि मात्रामा बढ्न जान्छ। बैंकले इन्टरनेट बैंकङ सुविधा निशुल्क दिएको छ भने मोबाइल बैंकिङ, भिजा डेबिट कार्ड पहिलो वर्ष निःशुल्क दिने छ भने दोस्रो वर्षदेखि न्यूनतम शुल्क लिनेछ। विगत १८ वर्षदेखि बैंकिङ सुविधा दिँदै आएको कुमारी बैंकले देशभर १०० शाखा, ९९ एटिएम, तीन एक्सटेन्सन काउन्टर, तीन शाखा रहित बैंकिङ इकाईहरु मार्फत सेवा दिदै आएको छ।

प्रकाशित मितिः     १२ श्रावण २०७६, आईतवार १८:१४  |