नेपालगञ्ज -समायोजनमा परेर चिकित्सकको अन्यत्र सरुवा र बजेट नआएका कारण दुई वर्ष अघि नेपालगन्जको भेरी अस्पतालमा शुरु भएको मुटुरोगको उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ । यहाँ उक्त उपचार सेवा शुरु भएपछि मुटुरोगीका लागि बरदान सावित भएको छ । लखनउ र काठमाण्डौ जानुपर्ने बाध्यता हटेको थियो ।
तर अस्पतालमा हाल कार्यरत मुटुरोग बिशेषज्ञ डा कृष्ण अधिकारीको बढुवासंगै समायोजनबाट बीर अस्पतालमा सरुवा भएको छ । उनी केही दिनमै रवाना बुझेर बीर अस्पतालमा हाजिर हुँदै छन् । सरकारले भेरी अस्पतालमा उनको ठाउँमा तत्काल कसैलाई पठाएको छैन । उनकै दरबन्दी नयाँ चिकित्सक आउने तत्काल सम्भावना नदेखिएपछि अस्पतालको मुटुरोग सेवा बन्द हुने अवस्थामा पुगेको छ ।
डा. अधिकारी सरुवा र उक्त सेवाका अन्य कर्मचारीलाई तलव खुवाउन नसक्ने भन्दै अस्ताल प्रशासनले पत्र काटेपछि झनै अन्यौलता छाएको छ । मुटु रोगको उपचारका लागि भेरी अस्पतालमा २०७४ असार देखि क्थाथल्याब सेवा सुरु गरिएको थियो । तर, विशिष्टिकृत स्वास्थ्य सेवा अन्तर्गतको मुटुरोग उपचार सेवा संचालन गर्नका लागि स्थापना गरिएको भेरी अस्पतालको क्थाथल्याब सेवा भने बजेट र जनशक्तिको अभावका कारण संकटमा परेको छ ।