नेपालगञ्ज – नेपालगञ्जका होटल तथा उद्योगी, व्यवसायीले पर्यटन क्षेत्रको प्रर्बद्धनका लागि पोखरा जस्ता प्रमुख पर्यटकिय शहरसंग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता महसुस गरेका छन् । पोखरासंगको सहकार्यका विषयमा आन्तरिक छलफल र तयारी समेत शुरु भएको होेटल व्यवसायीले बताए । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले भारतीय पर्यटकलाई नेपालगञ्ज हुँदै पोखरा लैजान सकिने सम्भावना रहेकाले पोखरासंग सहकार्य गर्नुपर्ने आवश्यकता महसुस गरिएको बताए । ‘सीमा जोडिएको शहर हो नेपालगञ्ज । भारतसंग सडकको सिधा पहुँच छ । यस नाका हुँदै कयौ भारतीय पर्यटकलाई नेपालगञ्जमा एकरात बास बसाएर पोखरासम्म घुमाउन सकिन्छ ।’–कँडेलले भने ।
पश्चिमाञ्चल होटल व्यवसायी संघले भारतका बिभिन्न शहरमा शुरु गरेको ‘चलो पोखरा’ अभियानलाई बल पुग्ने गरी यहाँका होटल व्यवसायीले पनि भारतीय पर्यटक तान्न बिभिन्न ‘प्याकेज’ मार्फत प्रचार, प्रसार गरिरहेका छन् । ‘भारतका थोरै मात्र पर्यटक पनि हामीले तान्न सक्यौं भने राम्रै हुन्छ’– देशभर सञ्जाल बिस्तार गरेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानले भने,–‘नेपालगञ्जलाई ट्रान्जिट बनाएर पश्चिमका साथै पोखरा, चितवन र काठमाण्डौंमा समेत त्यस्ता पर्यटक लैजान सकिन्छ ।’
पोखरा जस्ता पर्यटकिय क्षेत्रका लागि नेपालगञ्ज ‘ट्रान्जिट’ बन्न सक्ने होटल स्नेहका व्यवस्थापक तोरबन घोषले बताए । उनले भने,–‘काठमाण्डौ उत्रिए पछि बाँकी अरु शहर घुम्नुपर्छ भन्ने छैन । नेपालगञ्ज आएर पनि पोखरा, चितवन जस्ता शहर घुम्न पाईन्छ भन्ने सन्देश फैलाउन जरुरी छ ।’ नेपालगञ्ज र पोखराबीच पर्यटनक्षेत्रमा सहकार्य गर्ने बिषयमा यसअघि पनि छलफल चलेका थियो । पोखराका होटल व्यवसायीहरु नेपालगञ्ज आएर बृहद अन्तरक्रिया गरेका थिए । अहिले फेरी त्यस्तै छलफल नेपालगञ्जका होटल व्यवसायीले शुरु गरेका छन् ।
पोखरासंगको सहकार्यका लागि सिधा हवाई सम्पर्कलाई नेपालगञ्जले प्रमुख बिषय बनाएको छ । पश्चिम नेपालकै ठुलाई हवाई ‘ट्रान्जिट’का रुपमा रहेको नेपालगञ्जबाट अहिलेसम्म पोखरा उडान हुँदैन । पर्यटनक्षेत्रको विकासका लागि नेपालगञ्ज–पोखरा उडान आवश्यक रहेको महसुस गर्दै यहाँ बसेको सर्वपक्षिय बैठकले प्रमुख एयरलाईन्स कम्पनीलाई लिखित अनुरोध समेत गरेका छन् । एयरलाइन्स कम्पनीहरुले लागत खर्च बढ्ने र बिजनेश नपाउने होकी भन्ने चिन्ता प्रकट गरेका छन् । बुद्ध एयर नेपालगञ्जका प्रमुख बिनित शाहले भने,–‘पर्यटन प्रर्बद्धनका अभियान शुरु गर्ने हो भने यो रुटमा बिजनेश पाउन समस्या छैन । तत्काल नभए पनि छिटै यहाँबाट हवार्य उडानहरु हुन सक्छन् ।’ लामो समय होटल क्षेत्रमा बिताएका सिताराम यादव नेपालगञ्ज र पोखराबीच सहकार्य गर्न सके दुबै क्षेत्रलाई फाईदा पुग्ने बताए ।
https://nepalgunjbusiness.com/2019/07/9588/