नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले आज सोमवारदेखि निःशुल्करुपमा आयकर फारम भर्न आन्तरिक राजश्व कार्यालयमा ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेल र संघका अध्यक्ष नन्दलाल बैश्यले संयूक्तरुपमा हेल्प डेक्सको उद्घाटन गरे ।
तीन महिनासम्म सञ्चालन गर्ने गरी शुरु भएको हेल्प डेक्समा दुई जना कर्मचारीको व्यवस्थापन गरिएको छ । संघका अध्यक्ष बैश्यले आयकर फारम भर्न आउनेलाई सजिलो होस् भनेर हेल्प डेक्स सञ्चालन गरेको जानकारी दिए । उनले भने,–‘राजश्व संकलनमा सरकारलाई सहयोग गरे जस्तै चाप हुने कामकाजमा पनि सहयोग गरेका छौं ।’
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले हेल्प डेक्सले कामकाजलाई सहज बनाउने बताए । हेल्प डेक्स सञ्चालन महासचिव अजय टण्डनले गरेका थिए भने कार्यसमिति सदस्य रोमनाग न्यौपानलेले धन्यबाद दिएका थिए ।