सुध्रिने कहिले ? सञ्चालनमा नआउँदै शौचले दुर्गन्धित बन्यो बसपार्क


नेपालगञ्ज – सञ्चालनमा नल्याउँदै नेपालगञ्जको अत्याधुनिक बसपार्क शौचका कारण दुर्गन्धित बनेको छ । निर्माणको काममा भएको सुस्तताले गर्दा उक्त बसपार्क समयमै सञ्चालनमा आउन सकेको छैन । चिटिक्क परेका अत्याधुनिक सुविधा सहितका संरचना झट्ट हेर्दा लोभ लाग्दो देखिन्छन् । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र मात्र होइन एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण भएको छ । तर भित्र गएर हेर्ने हो भने शौचले भरिएको देख्न पाईन्छ । दुर्गन्ध नै दुर्गन्ध फैलिएको छ ।

त्यसक्षेत्र भएर हिड्ने बटुवा, यात्रु, सेवाग्राहीदेखि जोकोहीले बसपार्कमा बनेका संरचनालाई चर्पीका रुपमा प्रयोग गरेका छन् । शौचालयको कोठामा ताला लगाइएको छ । तर बाहिर शौच गरिएको छ । कतिसम्म भने सटर खोलेरसम्म भित्र शौच गरेको भेटिएको निर्माणको काममा संलग्न कामदारहरु बताउँछन् । उनीहरु भन्छन्,–‘भन्दा भन्दा वाक्क भइसकेका छौं । बसपार्क शुरु नहुँदै फोहोर बनाइदिए ।’ नेपालगञ्ज उपमहानगरपालिकाले साउन १५ गतेभित्र बसपार्क सञ्चालन गर्ने तयारी गरेको थियो । तर काम नसकिएकाले त्यो सम्भव छैन । बसपार्क दक्षिणतर्फको भाग खुल्ला भएकाले मान्छेदेखि गाईबस्तुसम्म सहजै भित्र जाने भएकाले फोहोर हुन गएको हो ।

बसपार्क निर्माणको काममा खटिएका एकजना सुपरभाईजरका अनुसार, मान्छेदेखि गाईबस्तुले गरेको फोहोर फाल्न नै दैनिक खटिनुपर्ने अवस्था छ । धेरै रकम त्यसैमा खर्च भएको छ । बसपार्क निर्माणपक्षले शौचालयका लागि अस्थायी व्यवस्था नगरेको होइन । काम नभएको ठाउँमा खाल्डो खनेर त्यसैमा शौच गर्ने व्यवस्था गरिएको थियो । त्यो पनि कसैले प्रयोग गरेन । नेपालगञ्ज उपमहानगरपालिकाले घुम्ती शौचालयको पनि व्यवस्था गर्यो । तर कसैले पैसा तिरेर शौच गर्न नमाने पछि फिर्ता भयो । सुपरभाईजन भन्छन्,–‘अहिले सबैले यसैमा दिशा, पिसाव गर्छन ।’

प्रकाशित मितिः     १४ श्रावण २०७६, मंगलवार १७:१२  |