काम नसक्दा आजदेखि बसपार्क सञ्चालन गर्ने योजना पुरा भएन


नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमसेर राणाले सुविधा सम्पन्न वसपार्क साउन १५ बाट सञ्चालनमा आउने बताएका थिए । तर आज साउन १५ भए पनि बसपार्क सञ्चालन नआउने निश्चित भएको छ । ठेकेदार कम्पनीले लगभग काम सके पनि पर्खाल लगाउने लगायतका काम बसपार्क सञ्चालनमा आउन नसकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

उनका अनुसार कम्तिमा साउन १५ भित्र बसपार्क सञ्चालन गर्ने गरी तयारी गर्न निर्माणपक्षलाई भनिएको थियो । तर उक्त निर्देशन कार्यान्वयन भएन । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाले साउन १५ गतेभित्र बसपार्क सञ्चालनमा आइसक्ने सार्वजनिक घोेषणा गरेका थिए । तर उक्त घोषणा काम नसकिएका कारण पुरा भएन ।

तोकिएको समयमा काम नगरे पनि निर्माणको काम पाएको ठेकेदारलाई पटक पटक समय दिइएको थियो । अन्तिम पटक समय थप्दा दैनिक हर्जना तिर्ने सर्तमा काम गर्न दिइएको प्रवक्ता रिजालले बताए । बसपार्क शुरु गर्न अझै केही दिन लाग्ने छ । बसपार्क्भित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र मात्र होइन एकैपटक धेरै जनाले प्रयोग गर्न मिल्ने गरी महिला र पुरुषका लागि अलग–अलग सुविधा सम्पन्न शौचालय निर्माण भएको छ।

https://nepalgunjbusiness.com/2019/07/9668/

प्रकाशित मितिः     १५ श्रावण २०७६, बुधबार ०७:३८  |