नेपालगञ्ज – राष्ट्रिय वाणिज्य बैंक ( रावा बैंक) धम्वोझी शाखाले नेपालगञ्ज उपमहानगरपालिका–१४ नम्बर वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । बैंकले ‘नमूना कार्यक्रम’का रुपमा पहिलो चरणमा उक्त वडामा भत्ता वितरण शुरु गर्न लागेको हो । हालसम्म सो वडाका सर्वसाधारण सामाजिक सुरक्षा भत्ताका लागी बैंक धाउन बाध्य थिए ।
तर अब रावा बैंकले घरमै गएर भत्ता बितरण गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार, सामाजिक सुरक्षा भत्ता बितरण लगायतका बिषयमा बुधवार बैंकका प्रतिनिधिसंग छलफल भएको छ । ‘छलफलमा राष्ट्रिय वाणिज्य बैंकका अधिकारीहरु तत्कालका लागि चौध नम्बर वडामा घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सहमत भएका
छन् ।’ प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले भने–‘उक्त वडाको काम हेरेर आगामी दिनमा अन्य वडामा पनि यस्तो कार्यक्रम शुरु गर्न सकिन्छ ।’
रावा बैंकले उपमहानगरपालिकाले संकलन गर्ने राजश्व पनि आफै बुझ्ने भएको छ । हालसम्म कर्मचारीले नै दिनभर संकलन भएको राजश्व साँझ आफै बैंकमा लगेर बुझाउँथे । अब भने बैंक आफैले उक्त रकम बुझ्ने भएको छ । प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले रावा बैंकसंगको छलफलमा सेवामा सुधार, पार्किङ्ग व्यवस्थापन लगायतका बिषयमा छलफल गरेका थिए । जबाफमा बैंकका अधिकारीहरुले सर्वसाधारणको सुविधाका लागी क्रमिकरुपमा सुविधा थपिरहेको बताए ।