नेपालगञ्ज – नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराई संसदिय समितिको अस्पताल अध्ययनका क्रममा केहीदिन अघि नेपालगञ्ज आएका थिए । कोहलपुर मेडिकल कलेजको अध्ययन सकिए लगत्तै दिउँसो सिद्धार्थ भ्यू होटलमा प्रेस संगठनले गरेको भेटघाटमा सञ्चारकर्मीले ‘तपाईलाई माननीय मन्त्री ज्यू कहिले भन्न पाउँछौ ?’ भन्दै प्रश्न गरे । ‘पार्टीले आवश्यकता ठानेर जिम्मेवारी दियो भने मन्त्री हुन सकिन्छ । त्यसबेला माननीय मन्त्री भन्नुहोला । नभए पनि अहिले त सांसद छु नी, माननीय भन्दा हुन्छ है ।’–हाँसो सहित भट्टराईले यसरी जवाफ फर्काएका थिए ।
‘मन्त्री बन्ने पत्रकारको अड्कलबाजी’ सहितको पत्रकार सम्मेलन सकेर नेपालगञ्जबाट काठमाण्डौं फर्किएको केही दिनमै नेता भट्टराई आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा योगेश भट्टराई नियुक्त भएका छन् । उनी मन्त्री नियूक्त भए लगत्तै देशभरबाट बधाईको ओइरो लागेको छ । बाँकेबाट बधाई दिने क्रम जारी छ । सामाजिक सञ्जालदका ‘वाल’ भट्टराईको बधाईले भरिएको छ ।
चर्चित युवा नेता भट्टराई मन्त्री भएसंगै सम्बन्धित क्षेत्रमा सुधार आउने आशा गरिएको छ । मन्त्री भट्टराईबाट बाँकेले बिशेष अपेक्षा गरेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रमुख केशव न्यौपाने बताउँछन् । केही दिन अघि नेपालगञ्ज आएका बेला भट्टराईसंग न्यौपानले बाँकेको पर्यटन र होटल क्षेत्रका चुनौती र सम्भावनाका बारेमा कुराकानी गरेका थिए । कुराकानीका क्रममा बाँकेप्रति भट्टराई अत्यन्त सकारात्मक पाएको बताउँदै न्यौपानले भने,–‘आज उहाँ मन्त्री बन्नुभएको खबरले खुःसी छौ । आगामी दिनमा उहाँबाट बाँकेले धेरै कुरा पाउन सक्ने अपेक्षा गरेका छौं ।’
नेपालगञ्जले पोखरा, दिल्ली उडानका लागि पहल गरिरहेको छ । पश्चिम नेपालकै पर्यटनक्षेत्रको ट्रान्जिट बन्ने दौडमा रहेको नेपालगञ्जका लागि यस्ता उडान अनिवार्य छ । तर केन्द्रबाटै कुनै चासो नदिदा सोंचेको पुरा हुन नसकेको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले बताए । उनले नवनियुक्त मन्त्रीबाट पुरा हुने अपेक्षा गरेको बताए । उडानसंगै भ्रमण वर्षमा केन्द्रबाटै बाँकेलाई प्राथमिकतामा राख्नुपर्ने न्यौपाने बताउँछन् । उनी भन्छन्,–‘पछि पर्दै गएको नेपालगञ्जलाई उहाँको कार्यकालमा उत्साह जगाउने काम हुने अपेक्षा गरेका छौं ।’
https://nepalgunjbusiness.com/2019/07/9644/?fbclid=IwAR0sFKZsXLWB8GTn7NjlK6cJvMCit93fKCM2gIgTbhEMwwchb-gnJmqWRo4