१५ हजार टन जडिबुटी नेपालगञ्जमै थन्कियो


नेपालगञ्ज-भारतले आफ्नो प्लान्ट क्वारेन्टाईनको सूचिमा समावेश नगरेर ५४ प्रकारका नेपाली जडिवुटी निर्यात गर्न नदिएपछि गत ६ महिनादेखि ती जडिबुटीको निकासी हुन सकेको छैन ।  भारतीय क्वारेन्टाईनद्धारा सूचिकृत नगरिएका जडिबुटी मध्ये अधिकांश सबैभन्दा बढी भारत निकासी हुने गरेका जडिबुटीहरु रहेको व्यवसायीहरुले बताएका छन् ।

भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीहरु मध्ये रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेललाई समेत सुचिकृत गरिएको छैन । भारतले निकासी बन्द गरेपछि करिब १५ हजार टन जडिबुटी नेपालका विभिन्न नाकाहरुमा ६ महिनादेखि थन्किएको जनाउँदै नेपालगञ्जमा मात्र करिब ४ हजार टन जडिबुटी थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ ।  गत ६ महिनादेखि करिब चार हजार मेट्रिक टन जडिवुटी निर्यात हुन नसकेर व्यवसायीको गोदाममै थन्किएको नेपाल जडिबुटी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनु भयो । उहाँले नेपालभरी करिब १५ हजार मेट्रिक टन जडिवुटी थन्किएको जानकारी आएको बताउनु भयो ।

अहिले ५४ प्रकारका जडिबुटी मेचीदेखि महाकालीसम्मका व्यवसायीको गोदाममै थन्किएको र पहाडी जिल्लामा समेत संकलनको काम पनि रोकिएको उहाँले बताउनु भयो ।  अध्यक्ष अन्सारीका अनुसार विगत केही बर्षदेखि ट्रान्जिट परमिटको नाममा भारतले विभिन्न प्रकारका अवरोध सृजना गरेकोले जडिबुटीको निकासी न्यून हुँदै गएको थियो । तर, करिब ६ महिनाअघिबाट त ५४ प्रकारका जडिबुटीको निकासीमा प्रतिवन्ध लगाएकोले व्यवसायनै ठप्प प्राय भएको उहाँले बताउनु भयो ।

‘जडिबुटी निकासी ठप्प भएपछि एकातिर व्यवसायीको करोडौैं रुपियाँ गोदाममा फसेको छ भने अर्कोतिर पहाडी जिल्लामा संकलन र खेती समेत बन्द भएपछि हजारौं मानिस बेरोजगार भएका छन्’–अध्यक्ष अन्सारीले भन्नुभयो ।  पहिलेदेखि नै जडिबुटी निर्यातमा अनेकन झण्झट व्यहोर्नुपरिरहेको बेला भारतीय क्वारेन्टाईनले ५४ प्रकारका जडिबुटीलाई सुचिकृत नगरेपछि झन् जडिवुटी निर्यात नै नगर्ने अवस्था आएको जडिबुटीको प्रमुख निर्यातकर्ता सत्यम इन्टरनेशनलका प्रमुख रविन्द्रनाथ शुक्लले बताउनु भयो ।

उहाँका अनुसार भारत सरकारले आफ्नो भन्सारमा ईन्टरनेट मार्फत काम सुरुगरेपछि जडिबुटी निर्यात ठप्प भएको हो । ‘इन्टरनेट सिस्टममा नेपालबाट निर्यात हुने महत्वपुर्ण जडिबुटी सुचिकृत नै छैनन् । सूचिकृत जम्मा २६ प्रकारका जडिबुटीमात्र निर्यात गर्न पाइने व्यवस्था छ, ती मध्ये धेरैको भारतमा कुनै माग छैन, हामीले के निर्यात गर्ने ?’–व्यवसायी शुक्लले प्रश्न गर्नुभयो ।

प्रकाशित मितिः     २३ श्रावण २०७६, बिहीबार ०७:३६  |