डेण्टल सहित १३ फर्निचर उद्योग जले, तीन करोड बढिको क्षती अनुमान


नेपालगञ्ज – नेपालगञ्जको बिपीचोकको फर्निचर उद्योगमा बिहिवार राती ११ बजेदेखि शुरु भएको आगलागी आज बिहान पाँचबजे मात्र नियन्त्रणमा आएको छ । आधा दर्जन दमकलले आगो निभाउँदा समेत नियन्त्रणमा लिन छ घण्टा लाग्यो । फर्निचर उद्योगमा रहेका प्लाईमा अझै आगो रहेकाले नेपालगञ्ज उपमहानगरपालिकाको डोजरबाट हटाइदै छ । आगलागीस्थलमा दमकल स्ट्याण्डबाई राखिएको छ ।

छ घण्टा लागेको आगोले १३ वटा पसल जलेर खरानी भएका छन् । आगलागीस्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरका अनुसार निम्न उद्योग क्षती भएका छन् ।

१. हिमालय स्टिल
२. सानिया स्टिल
३. स्टार स्टिल
४.वारसी स्टिल
५.बिन्देश्वरी फर्निचर
६.न्यू रुबी
७. प्रतापसिंहको फर्निचर
८.आलिया फर्निचर
९. अमन फर्निचर
१०.ए–वान फर्निचर
११. वावा फर्निचर
१२. बाबा टे«र्डस
१३ सरदार डेण्टल

यि १३ पसलबाट तीन करोड क्षतीको प्रारम्भीक अनुमान गरिएको प्रहरी निरीक्षक राठौरले बताए । क्षतीको विवरण संकलन भइरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको छ । बिद्युत सर्ट भएर एउटा पसलबाट शुरु भएको आगो अन्यत्र पनि सल्किएको थियो । टिनले बनाएका घरमा फर्निचरको शोरुम र गोदामका रुपमा प्रयोग गरिएको थियो । सबै पसल जोडिएको र फर्निचर बनाउन प्रयोग हुने ज्वलनशिल पदार्थ समेत रहेकाले आगो निभाउन हम्मेहम्मे परेको थियो ।

तर आगलागी पीडितले दमकल समयमा नआएको र आए पनि पानीको उचित व्यवस्थापन नगरेको भन्दै आक्रोस पोखेका छन् । नेपालगञ्ज उपमहानगरका दुईवटा, राँझा बिमानस्थलको एउटा, कोहलपुर र बर्दियाबाट समेत दमकल आएको थियो । आगलागीस्थलमा पुगेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणासंग स्थानीयले दमकलका बारेमा गुनासो गरेका थिए । नेपालगञ्जको दमकलको मात्र भर परेको भए वरपर रहेका सबै फर्निचर जल्ने र मयक पेट्रोल पम्पसम्म आउने सम्भावना रहेको भन्दैले स्थानीयले चिन्ता प्रकट गरे ।

आगलागीमा कुनै पनि पसलको बिमा नभएको पाईएको छ । बाबा फर्निचरले बिमा गरे पनि त्यसका सञ्चालकले नविकरण गरे नगरेको थाहा नभएको बताए । उद्योगका सञ्चालकले बिमा नगरेको जानकारी दिएका छन् । आगलागी भएका टहराहरु फेरी नयाँ बनाउनुपर्ने भएको छ । अहिलेकै अवस्थामा पुन : प्रयोगमा ल्याउन सकिने अवस्था छैन । आगलागीस्थलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैशय लगायत गएर निरिक्षण गरेका छन् । उनीहरुले क्षतीपुर्ती र आगामी दिनमा यस्ता घटना तत्काल नियन्त्रण गर्ने उपायका बारेमा सोच्न सरोकारवालालाई आग्रह गरे ।

https://nepalgunjbusiness.com/2019/08/10077/

प्रकाशित मितिः     २४ श्रावण २०७६, शुक्रबार ०८:४५  |