भारतबाट खसी आयात दोब्बरले घट्यो


नेपालगञ्ज – भारतबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेश गर्नुपर्ने नियम लागू भएपछि नेपालगन्ज नाकाबाट पशुचौपाया आयात हुने क्रम घट्दै गएको छ । खसी लगायत पशुचौपाया आयात गर्ने ब्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थालेको पशु क्वारेन्टाइन चेक पोष्टका प्रमुख रामसेवक त्रिपाठीले जानकारी दिए ।

उनले भारतबाट पशुचौपाया आयात आधा घटेको बताए । आर्थिक बर्ष २०७४/०७५ मा एक लाख ५४ हजार ९ सय ५४ गोटा लगायतपशुचौपाया आयात भएका थिए । तर, गत आर्थिक बर्षमा ७३ हजार दुई सय दुई गोटा पशुचौपाया मात्र आयात भएको उनले बताए । स्वास्थ्य जाँच गराउन दिल्ली या कलकता जानुपर्ने भएपछि ब्यापारीले भारतबाट पशुचौपाया आयात गर्न छाड्दै गएको उनले बताए । ‘नाफा भन्दा झन्झट धेरै हुने भएपछि पशुचौपाया आयात ह्वात्तै घटेको छ,’ त्रिपाठीले भने ।

जुन देशले निकासी गर्ने हो सोही देशको क्वारेन्टाइनबाट पशु स्वास्थ्य जाँचको प्रमाणपत्र ल्याउनु पर्ने नीति विक्रम् सम्बत् २०५५ सालमा बने पनि पशु क्वारेन्टाइन कार्यालय, नेपालगन्जले गत चैत महिना अघिदेखिमात्र यो नियम कडाईका साथ लागू गरेको छ । पशु सेवा विभागको निर्देशनमा भारतबाट निकासी हुने पशुको स्वास्थ्य जाँच प्रमाणपत्र अनिवार्य गरेको त्रिपाठीले बताए । ‘आजभन्दा २१ बर्षअघि नै लालमोहर लागेर नीति आएको हो, तर विभाग र मन्त्रालयका प्रमुखका कारण लागू हुन सकेको थिएन,’ उनले भने, ‘अहिले आएर कडाईका साथ नीति कार्यान्वयन गर्नुभन्ने आदेश आएपछि सोही बमोजिम हामीले काम गरेका हौँ ।’

पशुको स्वास्थ्य जाँच भएको प्रमाणपत्र बुझाउनु पर्ने नियममा कडाई गरिएपछि ९० गोटा खसी, बोकामात्र नेपालगन्ज नाकाबाट आयात भएको पशु क्वारेन्टाइन चेकपोष्टका प्रमुख त्रिपाठीले बताए । उनले फागुन महिनामा गाई, गोरु, राँगा, भैँसी, खसी, बोका, बंगुर, घोडा, खच्चड आयात भए पनि चैत महिनामा एउटा पशु आयात नभएको बताए । ‘चैतपछि बैशाखमा ९० गोटा खसी, बोका बाहेक असार मसान्तसम्म कुनै पशुचौपाया आयात भएका छैनन्,’ उनले भने ।  त्रिपाठीका अनुसार, गत आर्थिक बर्षको फागुनसम्म ६९ हजार २४८ गोटा खसी, बोका, दुई हजार २१ गोटा संगुर, बंगुर, एक हजार एक सय ३० घोडा, खच्चड र सात सय १३ गोटा राँगा, भैँसी आयात भएका छन् ।

पशु क्वारेन्टाइन चेकपोष्टका अनुसार, भारतबाट सवैभन्दा धेरै खसी, बोका आयात हुने गरेको छ । गत आर्थिक बर्षमा ६९ हजार ३३८ गोटा खसी, बोका आयात भएको त्रिपाठीले जानकारी दिए । आर्थिक बर्ष ०७४/०७५ मा एक लाख ४४ हजार १७२ गोटा खसी, बोका भारतबाट आयात भएका थिए ।  उनले दोस्रोमा सुंगुर, बंगुर आयात भएको भएको बताए । आर्थिक बर्ष ०७५/०७६ मा दुई हजार २१ गोटा सुंगुर, बंगुर र आर्थिक बर्ष ०७४/०७५ मा आठ हजार ७७१ गोटा सुंगुर, बंगुर आयात भएको थियो । ‘काठ्माडौँ, पोखरा लगायतका शहरमा लैजान नेपालगन्ज नाकाबाट खसी, बोका आयात हुने गरेको थियो,’ उनले भने । दुध र खाने माछा आयातमा पनि कमी आएको छ । गत आर्थिक ०७५÷०७६ मा एक सय ७९ मेट्रिक टन दुध र तिन सय ३१ टन खाने माछा आयात भएको पशु क्वारेन्टाइन चेकपोष्टको तथ्यांकले देखाएको छ ।  तर, आर्थिक बर्ष ०७४/०७५ मा सात सय ६८ मेट्रिक टन दुध र २४ हजार २२१ मेट्रिक टन खाने माछा आयात भएको थियो । ‘स्वास्थ्य जाँच गराएर मात्र माछा ल्याउन दिने नियममा कडाई गरिएपछि गत आवमा थोरै मात्रामा माछा आयात भएको छ,’ त्रिपाठीले भने ।

प्रकाशित मितिः     २४ श्रावण २०७६, शुक्रबार १२:४०  |