- कमल डाँगी
‘अहिले साल पाईन बिदा,
पोल्छ छाती सानीलाई सम्झिदा ।
राम्री पुल तरने बित्तिकै
बाँचे घर मरे त यत्तिकै ।’
नेपालगञ्ज -सारङ्गीको धुनमा गन्धर्वले गाउने यस्ता गीत नसुन्ने को नै होला र ! माया प्रेमको मिलन÷बिछोड, घर छाडेर परदेश गएकाको दुःख, छोराछोरीलाई सम्झिएर घरमा रोई बस्ने आमा बाबुका बिलौना र लाहुरेको सहादत्तका वास्तविक घटनालाई गीतमा समेट्ने गन्धर्व समुदायको पुरानै चलन हो । त्यसैले त धेरैले सारङ्गी भन्ने वित्तिकै दुःख र बिलौनाको धुन सम्झिन्छन् ।
तर अव भने सारङ्गीमा दुःख र बिलौना मात्र सुनिदैन् । विकास र सम्बृद्धिका कुराले पनि ठाउँ पाउन थालेको छ । कोहलपुर–११ का ५५ वर्षिय बीरहादुर गन्धर्व समाजमा आएको परिवर्तन देखेर सारङ्गीको धुन फेर्नुपरेको बताउँछन् । उनी भन्छन्,–‘हामी समाजको ऐना हो । समाजमा जे हुन्छ त्यसलाई गीत बनाएर गाउँछौ । उ बेलाको समाजमा त्यस्तै दुःख थियो । दुःखका गीत बने । अहिले धेरैथोक फेरिएको छ । विकास आएको छ । दुःख पनि होला तर उहिले जस्तो अहिले छैन । सुःख छ । अब यसैलाई गीत बनाउँछौ ।’
२०६६ सालबाट बीरबहादुरले विकास र सम्बृद्धिको चेतना फैलाउने गीत गाउने निचोडमा पुगे । छोराछोरी पढाउँनुपर्छ भन्ने सन्देश फैलाउँदै यसरी गीत गाए …
पढ्न पढाउ, ऐ मेरा आमा बाउ,
सन्तानलाई निरक्षर नबनाउँ ।
‘पढाई जस्तो ठुलो कुरा केही रहेनछ । आफु पढ्न नपाए पनि मैले अरुलाई पढाउनुपर्छ भन्दै गाउँ शहर गाएर हिडे ।’– बीर बहादुर भन्छन् । शिक्षा पछि उनले वातावरण जोगाउन आग्रह गर्दै यो गीत गाए ।
रुख रोपौं, वन जोगाउँ हजुर,
सामुदायिक वनमा नाँच्ने छन् मयुर ।
‘सामुदायिक वन जोगाउने बिषयमा तालिम लिएको थिए । तालिम लिएपछि वन जोगाउन आग्रह गर्दै गीत गाउने निष्कर्षमा पुगे । अरुले अरु गरेर वन जोगाउँलान् । मैले जे जानेको थिए, त्यही गरे ।’– बीरबहादुरले भने । शिक्षा र वन जोगाउने मात्र होइन, खाद्य अधिकारदेखि विकासका बारेमा समेत गीतमा चर्चा गर्दै गाउन थालेका छन् । उनको समूहमा दिलबहादुर गन्र्धव, गौरीशंकर गन्धर्व, शेरबहादुर गन्धर्व, प्रेम बहादुर गन्धर्व छन् ।
सारङ्गीमा नयाँ धुन फेरिए पनि गन्धर्वका दुःख भने उस्तै छन् । विकास र सम्बृद्धिका कुरा गर्दै जनचेतना फैलाउँदै हिड्ने उनीहरुलाई साँझ बिहानको घर खर्च टार्न मुस्किल छ । वन संरक्षण सम्बन्धी जनचेतना फैलाउन सहयोग गरे वापत जिल्ला वन कार्यालय बाँकेले आर्थिक सहयोग गरेको थियो । स्थानीय तहले पनि साथ दिएका छन् । तर नगन्य मात्रामा । आयस्रोतको अन्य विकल्प नहुँदा गीत गाएर जिविकोपार्जन गर्न उनीहरुलाई मुस्किल छ ।
जनप्रतिनिधिहरुले सहयोगको हात नबढाएको भने होइन । बाँकेका सांसद महेश्वर गहतराज अथककै पहलमा उनीहरुको कोहलपुरमा घर बन्दै छ । ‘उहाँले ठुलै सहयोग गर्नुभएको छ ।’–बीरबहादुर भन्छन् । भेट हुँदा बाँकेकै अर्का सांसद एवं शहरी विकास मन्त्री ईस्तियाक राईले पनि सहयोग गर्ने गरेको बीर बहादुर सुनाउँछन् । उनी भन्छन्,–‘उहाँले असाध्यै माया गर्नुहुन्छ ।’
स्थानीय तह र गैरसरकारी संस्थाबाट गन्धर्व समुदायको एउटा अपेक्षा छ । त्यो हो, जनचेतनामुलक कार्यक्रममा सहभागिता । ‘जनचेतना फैलाउनका लागि हाम्रा गीत र सारङ्गीको धुन अरु कुनै कुरा भन्दा कम प्रभावकारी छैन ।’ बीरबहादुर भन्छन्–‘आउनुहोस् हातेमालौ गरौं । हामीलाई पनि राम्रो, तपाईहरुलाई पनि राम्रो !’