सामाजिक काममा मन डुलाउने युवा व्यवसायी


नेपालगञ्ज -नेपालगञ्जमा यतिबेला गाई बचाउ अभियान चलेको छ । सडकमा छाडाचौपायका नाममा त्यसै छाडिएका गाईगोरुको संरक्षणका लागि सामाजिक सञ्जालबाट शुरु भएको अभियानले जनप्रतिनिधिदेखि मन्त्रीसम्मको ध्यानार्कषण गरायो । यही अभियानकै कारण गाईगोरुले बल्ल स्याहार÷सुसार पाएका छन् ।

यसरी सामाजिक आन्दोलन छेड्ने युवा मध्ये एक थिए, विवेक श्रेष्ठ । उमेरले ३५ वर्ष पार गरेका श्रेष्ठ फुर्सदिला भएर सामाजिक काम गरिररहेका भने होइनन् । निशान र ड्याट्सन गाडीको आधिकारिक विक्रेता नेपालगञ्जस्थित देवमंगलमका डाईरेक्टर हुन । व्यवसायीक कामको चापकाबीच श्रेष्ठ सामाजिक काममा पनि व्यस्त भइरहन्छन् । उनी भन्छन्,–‘सामाजमा केही नराम्रो भएको देख्नै सक्दिन । चुप लागेर बस्नै नसक्ने भइसके । केही न केही गरौ जस्तो लाग्छ ।’

सामाजिक काममा मन डुलाइरहने विवेकको व्यवसायीक क्यारियर शुरु भएको १३ वर्ष भयो । अधिकांस समय अटोमोवाईल क्षेत्रमै बिताएका छन् । गौरीशंकर अटोमोवाईल हुँदै केही समय आफ्नै क्याफे सञ्चालन गरे । अहिले देवमंगलममा छन् । ‘कामको चाप छ । त्यही पनि सामाजिक काममा नलागी मनले मान्दै मान्दैन ।’ श्रेष्ठ भन्छन्–‘हाम्रा पनि त सामाजिक उत्तरदायित्व छन् । त्यसलाई कसरी बिर्सिन सकिन्छ र ? ’ विवेक लाईन्स क्लव, हुमेन लाईफ फाउण्डेशन, नेवा पुँच जस्ता सामाजिक संघसंस्थामा सक्रिय छन् । अहिले उनी घाइते गाईगोरुको उद्धार गरी उनीहरुलाई नयाँ जिवन दिन लागिपरेको भेट्न पाईन्छ ।

यसरी समाजिक काम गर्दा व्यवसायलाई समय पुग्छ त ? श्रेष्ठ भन्छन्,–‘समय नपुगेको होकी जस्तो लाग्छ । तर पनि म्यानेज नगरी सुःख छैन ।’ व्यवसायीक कामलाई असर पर्ने गरी काम गर्न नहुनेमा उनी सचेत छन् । श्रेष्ठ भन्छन्,–‘व्यवसायमा लाग्नेले समय छैन भनेर सामाजिक कामलाई बिर्सिनु भएन । फेरी सामाजिक काममा मात्र लागेर व्यवसायलाई भुलेर पनि भएन दुवै कामका लागि समय व्यवस्थापन गर्न सक्नुपर्यो ।’

प्रकाशित मितिः     २७ श्रावण २०७६, सोमबार ११:०१  |