नेपालगञ्ज आउने विदेशी पर्यटकलाई ‘एयरफेयर’ को भारी ! भ्रमण वर्षमा घट्ला ?


नेपालगञ्ज – ‘अहो ! कति महङ्गो हो तिम्रोमा एयरफेयर ?’–पश्चिम नेपाल घुम्न काठमाण्डौंबाट नेपालगञ्ज आएका बिदेशी पर्यटक यहाँ बास बसेका बेला होटल सञ्चालकसंग यस्तै गुनासो पोख्छन् । त्यस्ता पर्यटकहरु यहाँसम्म प्लेनमा आउँदा लाग्ने खर्चले त चितवन र पोखरा नै घुम्न भ्याईन्छ भन्ने तर्क गर्न पछि पर्दैनन् । एयरफेयर निर्धारण गर्ने ठाउँमा नभएकाले होटल सञ्चालक प्रश्न सोध्ने पर्यटकलाई जवाफ दिन सक्दैनन् ।

तर अब भने यहाँका होटल व्यवसायीहरु औपचारिक फोरममै एयरफेयरका बारेमा बोल्न थालेका छन् । होटल तथा पर्यटन व्यवसाय प्रर्बद्धनका बिषयमा हुने हरेक कार्यक्रममा एयरलाईन्स कम्पनीलाई कसरी हुन्छ एयरफेयर घटाउन लगाउनुपर्ने माग गर्दै आएका छन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल भन्छन्,–‘नेपालीलाई अधिकतम दश हजार र बिदेशी पर्यटकलाई झण्डै बिस हजार एयरफेयर लाग्दै आएको छ । हामी नेपाली बराबर गर भन्दैनौ । तर अलि कम गरेको भए पर्यटकको संख्या बढ्ने थियो जस्तो लाग्छ ।’ अध्यक्ष कँडेलले भ्रमण वर्ष २०२० नजिक आएका बेला एयरफेयरको मुद्दालाइ सशक्तरुपमा उठिरहेको बताउँछन् ।

पश्चिम नेपालका पर्यटकियस्थल बिदेशीका लागि नयाँ छन् । काठमाण्डौ ओर्लिएपछि अधिकांस पर्यटकहरु पूर्वतर्फ केन्द्रीत हुँदै आएका छन् । प्राय यहाँ आउँदैनन् । ट्राभल्स कम्पनी जहाँ चर्चित पर्यटकियस्थल छन् त्यहाँकै ‘टुर प्योकज’ बनाउँछन् । ‘पश्चिमका धेरै जसो पर्यटकियक्षेत्रका बारेमा बिदेशीलाई थाहै छैन । उनीहरु काठमाण्डौं, पोखरा, सौराहा, सगरमाथा त्यतै त्यतै जान चाहान्छन् ।’ होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेल भन्छन्–‘पर्यटकले आफै पश्चिम घुम्छु भन्ने अवस्थामा बाहेक अन्यथा ट्राभल्स्हरुले महङ्गो एयरफेयरमा पर्यटकलाई यता पठाउँदैनन् । जसको मारमा हामी पर्छौ ।’ यहाँको पर्यटकियस्थल चिनाउन बाँकी नै रहेका बेला एयरफेयरले झन् समस्या पारेको बुझाई यस क्षेत्रका होटल तथा पर्यटनक्षेत्रमा काम गर्नेहरुको छ ।

नेपाल भ्रमण वर्ष २०२० शुरु हुँदैछ । उक्त भ्रमण वर्षबाट पश्चिमलाई समेत लाभ दिने हो भने एयरफेयर सस्तो बनाउनुपर्ने यहाँका होटल व्यवसायीको माग छ । नेपालगञ्ज–पोखरा उडान लगायत यहाँको पर्यटक प्रर्बधनमा सक्रिय सिद्धार्थ हस्पिटालिटी अफ बिजनेश ग्रुपका क्षेत्रीय अध्यक्ष केशव न्यौपानले थप उडान एयरफेयर लगायत विविध बिषय सम्बोधन हुन सके पश्चिम नेपालका पर्यटकियस्थलमा बिदेशी पर्यटक भरिभराउ हुने बताउँछन् । उनी भन्छन्,–‘कस्ले के गर्दा पश्चिम नेपाललाई फाईदा हुन्छ त्यो गर्न अग्रसर रहौं ।’ न्यौपानले भ्रमण वर्षलाई लक्षित गरी पश्चिम नेपालमा बिशेष प्याकेज शुरु गर्नुपर्ने सुझाव दिए ।

पश्चिम नेपालमा बर्दिया राष्ट्रिय निकुञ्ज हेर्न सबैभन्दा बढि पर्यटक आउँछन् । त्यसबाहेक कर्णाली प्रदेशको डोल्पा, हुम्लामा टे«किङ्गको रुची राख्दै आउने पर्यटक पनि छन् । तर नगन्य मात्रमा । नेपालगञ्ज पुग्न झण्डै बिस हजार खर्च गर्नुपर्छ भने डोल्पामा पुग्न त बढि खर्च हुने गरेको छ । ठाउँको प्रचारप्रसार नभएको अवस्थासम्म पर्यटकलाई तान्न भएपनि एयरफेयर हेरफेर गर्नुपने नेपालगञ्जको माग छ । होटल व्यवसायी सिताराम यादव एयरफेयरसंगै पश्चिम नेपालका पर्यटकियस्थल प्रचार प्रसार गर्नुपर्ने बताउँदै भने,–‘त्यसका लागि सबैले हातेमालो गरौं ।’ सन्देश ट्रभाल्स समेत सञ्चालन गरिरहेका नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष श्रीराम सिग्देश नेपाल भ्रमण वर्षमा पश्चिम नेपालमा पर्यटक भित्रा्उन सरकारले के गर्छ भन्ने कुरा प्रतिक्षाको बिषय बनेको बताउँछन् । ‘एयरफेयर मात्र होइन पर्यटनक्षेत्रको प्रोत्साहनका लाथि थुप्रै काम गर्न बाँकी छ । यो काम सरकार र निजीक्षेत्रको सहकार्य बिना सम्भव छैन ।’– सिग्देल भन्छन् ।

चार वर्ष अघि यस्तो भनेका थिए बुद्ध एयरका अध्यक्ष बस्नेतले

बुद्ध एयर पश्चिमको पर्यटकिय विकासका लागि केही नयाँ काम गर्न खोजेको थियो । उसले बर्दियाको प्रचार प्रसारदेखि एयर फेयरसम्म सहुलियत नदिएको होइन । बुद्ध एयरका अध्यक्ष बिरेन्द्र बहादुर बस्नेतले यहाँको पर्यटनक्षेत्रको विकासका लागि केही न केही भने सोचेका रहेछन् । बिजमाण्डु डटकम अनलाईनसंग चार वर्ष अघि उनले दिएको अन्र्तवार्ताको केही अशं यहाँ प्रस्तुत गरिएको छ ।  जो अहिले पनि उत्तिकै सान्र्दभिक छ ।

तपाईं पर्यटन उद्योगका ‘वाइप्रोडक्ट’मा जाने संभावना ?
पहिले बुद्ध एयरलाई नै थप सशक्त बनाउनु पर्यो । आगामी दुई बर्षसम्म हामी अन्यत्र कतै पनि ध्यान केन्द्रित नगरि बुद्ध एयरलाई नै बलियो बनाउँछौं ।

अहिले यति धेरै रिसोर्ट होटल पाइपलाइनमा छन्, तपाईंलाई यो क्षेत्रले तान्दैन् ?

तानेको छैन । तयारी गर्नेहरुले खोलुन् । उनीहरुका लागि हामी ‘गेष्ट सप्लाई’ गर्छौैं । जस्तो अहिले हामी बर्दिया प्रबद्र्धन गर्दैछौं । आन्तरिक पर्यटन प्रबद्र्धनका लागि हामी आफैंले विज्ञापन गर्न लागेका हौं । बर्दियामा हामीले सस्तो दरमा उडाएर, होटलसँग ‘नेगोसिएन’मा पर्यटलाई सहयोग गर्दैछौं । त्यसैले बर्दियामा खुलुन् न होटलहरु, शुक्लाफाँटामा खुलुन् । डब्लुडब्लुएफसँग पनि हामी कुरा गर्दैछौं । हाम्रो ‘कम्पिटेन्सी’ भनेको ‘एयरफेयर’ हो । त्यसमा हामी आफ्नो तर्फबाट सक्दो योगदान गर्छौं । किन भने अबको पर्यटन विस्तार मध्य र सुदुर पश्चिम हो भन्नेमा दुई मत नै छैन । र, त्यसको सुरुवात बर्दिया हो । आजको दिनमा दुई हजार पर्यटक गएका छन् । त्यसलाई ५० हजार पुर्याउन सक्ने कि नसक्ने ? त्यो अवस्थामा त हाम्रै्र जहाजले काम पाउने हो । सबैभन्दा ठुलो ७२ सिटको त हाम्रै जहाज छ । हामीले अहिले नेपालगञ्जमा दैनिक दुई उडान गरि रहेका छौं । पाँचवटा किन नगर्ने ? त्यो अवस्थामा जहाज थप्नु पर्ला तर अवसर त हाम्रै लागि हो । त्यसैले हामीले आफ्नो तर्फबाट पर्यटन प्रबद्र्धनमा सघाउने भनेर नै बर्दियामा ‘कोर फोकस’ गरेका हौं ।
बर्दियालाई ‘क्लिक’ गराउन सक्नु भनेको मध्य र सुदुर पश्चिम ‘वुम’ हुनु हो । त्यसैले त्यहाँ हामीले किन होटल खोल्ने ? त्यहाँका स्थानीयले  होटल खोलुन न । स्थानियमा उद्यमशीलता विकास होस् । स्थानीयलाई रोजगारी सिर्जना होस् । थारु गाउँमा होमस्टे बनेका छन्, ती सफल बनुन् । हामीले होटल खोल्यौं भने त स्वार्थ बाझिने भयो । मैले मात्र लुटेर कसरी हुन्छ । सबैले बाँडीचुँडी पो खानु पर्छ । वास्तवमा नेपालमा अहिले आर्थिक उन्नतीको जुन नारा चर्केको छ पाँच जना व्यक्तिले देशको पुरा अर्थतन्त्र ‘क्याप्चर’ गरेर त्यो हाँसिल हुन सक्दैन ।

https://nepalgunjbusiness.com/2019/08/10202/?fbclid=IwAR2mpf3hKbaWNEMI7JdN6QJ-Ki8QvZ6Rnwwl9BLHWoJ6DpzgLYBH9ri2H8w

प्रकाशित मितिः     २८ श्रावण २०७६, मंगलवार ०७:४८  |