धनगढी, २७ साउन ।
सुदूर पश्चिमको पहिलो डिपार्टमेण्टल स्टोर चौलानी डिपार्टमेण्टल स्टोर सञ्चालक चौलानी ग्रुप अफ कम्पनीले आफ्नो सेवा,सुबिधा विस्तार गर्ने क्रममा धनगढीमा फुडकोर्ट, स्वीमिङ पुल र कफी सप सोमबारदेखि सञ्चालनमा ल्याएको छ । चौलानी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक मान सिंह साउँदका बुवा केशे साउँदले सोमवार रिवन काटेर फुडकोर्ट, स्वीमिङ पुल, कफी सपको उद्घाटन गरे ।
चौलानी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक साउँदले फुडकोर्ट, स्वीमिङ पुल र कफी सप सञ्चालनका लागि दुई करोड ५० लाख रुपैयाँ लगानी गरेको बताए । उनले चौलानी डिपार्टमेण्टल स्टोर भित्र सबै सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको फुडकोर्ट, स्वीमिङ पुल, कफी सपले सुदूर पश्चिमको पर्यटन विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रबन्ध निर्देशक साउँदले सेवा सुबिधा विस्तार गर्ने क्रममा दशैं अघि नै ३५ कोठा सहितको बुटिक होटल, ज्याकुजी तथा सौना सहितको फिटनेश सेन्टर र रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरेको बताए । चौलानी ग्रुप अफ कम्पनीले कफीका पारखीहरुका लागि चौलानी डिपार्टमेण्टल स्टोर परिसरभित्रै सोमवार देखि ३५ लाख रुपैयाँको लगानीमा रेडमड कफी सप सञ्चालनमा ल्याएको छ ।
रेडमड कफी कफी पारखीहरुका माझ लोकिप्रिय ब्राण्ड हो । रेडमण्ड कफीको सहकार्यमा धनगढीमा कफी सप सञ्चालनमा ल्याएको साउँदले बताए । क्याफेबाट सुदूरपश्चिम ब्राण्डको कफी लगायतका पेय पदार्थ बिक्री वितरण हुने साउँदले बताए । चौलानी ग्रुप अफ कम्पनीले निकट भविश्यमा रेष्टुरेन्ट, फिजिकल फिट्नेश सेन्टर र ईन्डोर व्याडमिन्टन कोर्ट पनि सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।