बाँकेमा पहिले अपुग हुने सुनको कोटा अहिले विक्री भएन, सिजनमै सुनसान


बाँके -बाँकेका लागि मासिक छ देखि सात किलोग्राम सुनको कोटा छुट्टयाइन्थ्यो । केही दिन अघिसम्म उक्त कोटा सुनचाँदी व्यवसायीका लागि अपुग हुन्थ्यो । विक्री गर्न समस्या थिएन । तर अहिले उक्त कोटा विक्री नभएर सुनचाँदी व्यवसायी हैरान भएका छन् । पसल सुनसान अवस्थामा पुगेका छन् । सुनको मूल्य लगातार आकाशिँदै गएपछि कारोबारमा मन्दी आएको छ । तीज नजिकिँदा पनि काठमाडौं लगायत प्रमुख शहरका सुनचाँदी पसलहरूमा सुनको कारोबार सुस्त देखिएको छ । त्यसमाथि, पसलमा गरगहना किन्नेभन्दा विक्री गर्ने ग्राहक बढी आउन थालेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार देशभरका २२ हजार सुनचाँदी पसलमा यो मौसममा दैनिक ४० केजीसम्म सुन बेचबिखन हुने गर्थ्यो । तर, अहिले मुश्किलले १० केजी सुनको मात्र कारोबार हुने गरेको छ । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य बढेको हो । अहिले नेपाली बजारमा प्रतितोला छापावाल सुनको मूल्य रू. ७० हजार भन्दा बढि छ । साथै, अब सामान्य अवस्था आउँदा पनि सुनको मूल्य प्रतितोला रू. ६५ हजारभन्दा तल नझर्ने बताइन्छ ।

साउन महीनामा मात्र सुनको मूल्य तोलामा रू. ५ हजार ५०० बढेको छ । असार ३१ गते प्रतितोला छापावाला सुनको मुल्य रू. ६४ हजार ५०० थियो । अहिले बढेर रू. ७० हजार पुगेको छ । महासंघका अनुसार साउन १४ गतेसम्म सुनको मूल्य प्रतितोला रू. ६५ हजारमा तलमाथि हुँदै आएको थियो । साउन १५ देखि २३ गतेसम्म निरन्तर बढ्यो र २४ गतेदेखि स्थिर छ ।

कारोबार कम भएपछि सुनचाँदी व्यवसायीहरूले बैंकबाट सुन किन्न बन्द गरेका छन् । अहिले नेपाली बैंकहरूमा ७३० केजीभन्दा बढी सुन थन्किएको छ । सुन आयात गरेर व्यवसायीलाई विक्री गर्ने अधिकार वाणिज्य बैंकहरूसँग मात्रै छ । बाँकेका लागि बाँके सुनचाँदी व्यवसायी महासंघलाई मासिक तीन किलो र नेपालगञ्ज सुनचाँदी व्यवसायी संघका लागि तीन देखि चार किलोसम्म कोटा छुट्याईन्थ्यो । तर अहिले सुनको कारोबार लगभग शून्य अवस्थामा पुगेको बाँके सुनचाँदी व्यवसायी महासंघ बुद्धिप्रसाद दियालीले बताए । उनले भने, ‘नयाँ गरगहना बनाएर विक्री गर्ने काम ठप्प नै छ भन्दा हुन्छ । आफै सुन लिएर आउने ग्राहकको गरगहना बनाएर बसेका छौं ।’

मूल्य बढ्दा फाइदा हुने भएपछि आफूसँग भएको सुन फिर्ता गर्ने ग्राहकको संख्या बढेको सुनचाँदी व्यवसायीहरू नेपालगञ्ज सुनचाँदी व्यवसायी संघका अध्यक्ष सलाउद्धिन जसगढले बताए । ‘बजारको अवस्थाअनुसार चल्नैपर्ने बाध्यता छ,’ उनले भने, ‘गत हप्ताको तुलनामा अहिले गरगहना फिर्ता गर्ने ग्राहकको संख्यामा कमी त आएको छ । तर, गरगहना किन्नेभन्दा फिर्ता गर्ने ग्राहक नै बढी छन् ।’ गत हप्ता गरगहना फिर्ता गर्ने ग्राहकको संख्या अत्यधिक बढी भएको उनको भनाइ छ ।

प्रकाशित मितिः     २८ श्रावण २०७६, मंगलवार ११:१६  |