भारतीय प्लान्ट क्वारेन्टाईनमा ३१ प्रकारका जडिवुटी सूचिकरण हुने, निकासी अवरोध हट्ने आशा


भारतीय प्लान्ट क्वारेन्टाईनका अधिकारीसंग काठमाण्डौंमा जडिबुटी व्यवसायी ।

नेपालगञ्ज -नेपालबाट निकासी हुने ३१ प्रकारका जडिबुटी भारतीय प्लान्ट क्वारेन्टाईनको सूचिमा समावेश गर्ने प्रक्रिया शुरु भएको छ । काठमाण्डौंमा भएको नेपाल र भारत प्लान्ट क्वारेन्टाईनका उच्च अधिकारीबीचको बैठकमा जडिवुटी सूचिकरणको प्रक्रिया शुरु गर्ने सहमति बनेको हो । ८० प्रकारका नेपाली जडिवुटी सूचिकरण नगरेपछि गत ६ महिनादेखि जडिबुटीको निकासी हुन सकेको छैन । भारतीय क्वारेन्टाईनद्धारा सूचिकृत नगरिएका जडिबुटी मध्ये अधिकांश सबैभन्दा बढी भारत निकासी हुने गरेका जडिबुटीहरु रहेको व्यवसायीहरुले बताएका छन् ।

भारतमा सबैभन्दा बढी निकासी हुने जडिबुटीहरु मध्ये रिठा, कुटकी, दालचिनी, पखानवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाई, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामासी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका विभिन्न तयारी तेललाई समेत सुचिकृत गरिएको छैन । नेपालगञ्जमा मात्र करिब ४ हजार टन जडिबुटी थन्किएको नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ ।

जडिबुटी व्यवसायी महासंघका अध्यक्ष मोहमद याकुव अन्सारीले नेपालका तर्फबाट ३१ प्रकारका जडिबुटी सूचिकरण गर्ने सहमति बनेको बताए । उक्त सहमति कार्यान्वन भए जडिबुटी निकासीको सम्भावना बढेको उनले बताए । तर अहिले सूचिकरण गर्ने भनिएको संख्याले मात्र नपुग्ने अञ्सारीले बताए । बैठक चलिरहंदा जडिबुटीको समस्या समाधान गरिदिन आग्रह गर्दै व्यवसायीको टोली राजधानी काठमाण्डौं पुगेको थियो ।

शुक्रवार राजधानी काठमाण्डौंमा नेपाल र भारतका प्लान्ट क्वारेन्टाईन अधिकारीको द्धिपक्षिय बैठकमा भारतले नेपालका जडिबुटी सूचिकरण गर्ने सहमत बनेको जानकारी प्राप्त भएको जडिबुटीका प्रमुख निर्यातकर्ता रविन्द्रनाथ शुक्लले जानकारी दिए । ‘हाललाई यत्ति नै जडिबुटी सूचिकरण गर्ने र बाँकी क्रमश सूचिकरण गर्दै जाने सहमत बनेको छ ।’ शुक्लले भने । कम्तिमा दुई हप्ताभित्र गोदाममा थन्किएका जडिबुटी निकासी हुने सम्भावना रहेको शुक्लले बताए । जडिबुटी व्यवसायी महासंघका अध्यक्ष मोहमद याकुव अन्सारी लगायतका नेपालगञ्जका जडिबुटी व्यवसायी काठमाण्ण्डौंमा भएको द्धिपक्षिय बैठकमा पुगेर जडिबुटी निकासीको समस्या समाधान गर्न आग्रह गरेका थिए । शुक्लले नयाँ सहमतिले राहात महसुस भएको बताए ।

प्रकाशित मितिः     ३२ श्रावण २०७६, शनिबार ०९:२९  |