१७ स्थानीय तहमा तत्काल बैङ्क नजाने


  • क्यापिटल नेपालबाट

काठमाडाैं । सरकारले प्रत्येक स्थानीय तहमा बैङ्क पुर्याउने लक्ष्य राखे पनि भौगलिक विकटताले गर्दा तत्काल १७ तहमा नपुग्ने देखिएको छ । सरकारले गत आर्थिक वर्षको बजेटमार्फत ७५३ स्थानीय तहमा बैङ्कका शाखा पुर्याउने लक्ष्य राखेर सोहीअनुसार नेपाल राष्ट्र बैङ्कले शाख विस्तार गर्न वाणिज्य बैङ्कलाई निर्देशन दिएको थियो ।

हालसम्म ७३६ स्थानीय तहमा भने बैङ्क पुगेका छन् । राष्ट्र बैङ्कले दुर्गम स्थानमा शाखा विस्तार गर्ने बैङ्कलाई विभिन्न सहुलियत दिँदै आएको छ । तर भौतिक पूर्वाधार नभएको र कारोबार पनि ज्यादै न्यून हुने भन्दै त्यस्ता स्थानमा बैङ्क जान अस्वीकार गरेका छन् ।

‘कुनै पनि भौतिक सुविधा नै छैन, त्यस्तो ठाउँमा कसरी जाने ?’ नेपाल बैङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले भने । ती विभिन्न १७ स्थानमा बाटोघाटो, बिजुली बत्ती, इन्टरनेटलगायतका विभिन्न समस्या छन् । साथै अत्यन्तै दुर्गम भएकाले तत्काल जान नसकिने उनको भनाइ छ । राष्ट्र बैङ्कले बैङ्क नपुगेका ती स्थानीय तहमा जान बैङ्कलाई प्रोत्साहन् गरिरहेको राष्ट्र बैङ्कका सहायक प्रवक्ता गोविन्द नागिलाले बताए ।

बैङ्क नपुगेका स्थानीय तह
१. ताप्लेजुङ मिक्वाखोला गाउँपालिका
२. पर्सा जिराभवानी गाउँपालिका
३. धनुषा धनुषाधाम नगरपालिका
४. धादिङ रुबी भ्याली गाउँपालिका
५. धादिङ नेत्रावती गाउँपालिका
६. मनाङ नार्फु गाउँपालिका
७. डोल्पा काइके गाउँपालिका
८. डोल्पा छार्का ताङसोङ गाउँपालिका
९. डोल्पा डोल्पो बुद्ध गाउँपालिका
१०. कालिकोट महावै गाउँपालिका
११. जाजरकोट कुसे गाउँपालिका
१२. जाजरकोट चुनीचाँदे गाउपालिका
१३. बाजुरा स्वामी कार्तिक गाउँपालिका
१४. बझाङ काँडा गाउँपालिका
१५. बझाङ थलारा गाँउपालिका
१६. बाजुरा गौमुल गाउँपालिका
१७. बाजुरा बुढीनन्दा नगरपालिका

प्रकाशित मितिः     3:10:05 PM  |