नेपागञ्ज – नेपालगञ्जका नागरिक समाजका अगुवाले सटर बनाउने बिषयमा बिवाद गर्नु भन्दा ‘मास्टर प्लान’ बनाएर बागेश्वरी मन्दिरलाई प्रसिद्ध धार्मिक शक्तिपिठका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । दिर्घकालिन योजना बनाउने तर्फ बहस केन्द्रीत नगरी सटरकै बिषयमा अल्झिनुको कुनै अर्थ नरहेको उनीहरुको निष्कर्ष छ ।
विकासका लागि नागरिक सरोकार मञ्चले बागेश्वरी मन्दिरको विकासका विषयमा आज सिद्धार्थ कटेजमा बृहद छलफलको आयोजना गरेको थियो । उक्त छलफलमा बोल्दै संस्कृतिबिद् डा. राजकुमार सुवेदीले मास्टर प्लान नबनाएसम्म केही सटरले मात्र बागेश्वरीको विकास हुन नसक्ने स्पष्ट गरे । बागेश्वरी मन्दिरका शोधकर्ता डा. सुवेदीले भने,–‘मन्दिरको दिर्घकालिन हित चाहानुहुन्छ भने मास्टर प्लान बनाउनुहोस् । यो सटर बन्ने वा नबन्ने भन्ने बिषय ठुलो होइन । सटर होइन मास्टर प्लानमा बहस होस् ।’
पर्यटन मन्त्रालयले बागेश्वरी मन्दिरको गुरुयोजनाका बारेमा धेरै पहिले खाका तयार गरेको भए पनि त्यो अगाडी बढ्न नसकेको डा. सुवेदीको भनाई छ । ‘त्यो खाकाका बारेमा सम्भवत गुठी पनि जानकार छैन होला । गुरुयोजना बनाएर मन्दिरको बहृत्तर हितमा लागौं ।’– सुवेदीले भने । उनले मन्दिरको स्वरुप कस्तो हुने, श्रद्धालुको भिड कसरी नियन्त्रण गर्ने, जुत्ता चम्पल कहाँ राख्ने ? मन्दिरलाई कलात्मक कसरी बनाउने भन्ने बिषयमा योजना बन्नुपर्ने उनको भनाई थियो ।
कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालगञ्जका पूर्वमेयर बिजय गुप्ता, साहित्यकार एवं इतिहासका जानकार सनत रेग्मी, पशुपतियाल मिश्र, महेन्द्र बहुमुखी कयाम्पसका प्रमुख गणेश रेग्मी, अधिवक्ता प्रह्लाद कार्की, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पुनरावेदन बार उच्च अदालत नेपालगञ्ज इजलासका अध्यक्ष विकास आचार्य लगायतको कानून व्यवसायी, उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रका अगुवा र पत्रकारहरुको सहभागिता रहेको थियो । नागरिक समाजका अगुवाहरुको छलफलबाट आउने निष्कर्ष सरोकारवाला निकायलाई बुझाउने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए । छलफलमा सटर बनाउने वा नबनाउने बिषयमा पनि प्रवेश पाएको थियो । सटर बनाउने वा नबनाउने भन्ने बिषयमा बिभाजित स्वरहरु आए पनि समग्रमा दिर्घकालिनरुपमा फाईदा हुने गरी गुरुयोजना बनाएर मन्दिरको विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।
अधिवक्ता बिश्वजित तिवारीले बागेश्वरी मन्दिर सञ्चालनको खर्च धेरै भएकोले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा हेक्का राख्नुपर्नेमा दिए । उनले भने,–‘सरकारीले एक रुपैया दिन्न । भक्तजनले पुजा त गर्छन तर मन्दिर कसरी चलेको छ भन्ने जान्दैनन् । मन्दिर सञ्चालनको खर्च कहाँबाट ल्याउने भन्ने विषयमा पनि छलफल गरौं ।’ अन्य वक्ताहरुले नाममा मात्र सिमित रहेको मन्दिरको जग्गा र अन्य सम्पत्तिको व्यवस्थापन तथा खोजि गर्ने हो भने आम्दानीकै लागि सटर बनाउनै नपर्ने बताए । कार्यक्रमका सहभागिहरुले मन्दिर लगायत धार्मिक संस्थाको विषयमा आवाज उठाउनु आवश्यक भए पनि राजनीतिकरण गर्ने वा समाजलाई भाड्ने काम नगर्न सुझाव दिइएको छ । त्यस्तो कामले शान्त रहेको नेपालगञ्जलाई अशान्त बनाउने निष्कर्ष निकालिएको छ ।