नेपालगञ्ज, भदौं २ गते । नेपालगञ्जमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि कोष जम्मा गर्न बैंक खाता संचालनमा ल्याइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतका अनुसार राष्ट्रिय बाणिज्य बैंक बाँकेमा खाता नम्बर ४१३०००६५९९०१ संचालनमा ल्याइएको हो ।
गाई संरक्षण अभियानको नाममा उप–महानगरपालिकाले संचालन गरेको खातामा गाई लगायत छाडा छोडिएका पशुको ब्यवस्थापन र संरक्षणका लागि सहयोग रकम जम्मा गर्न सकिने छ । नेपालगञ्ज उपमहानगरपालिकाको अग्रसरतामा गाई लगायतका छाडा पशुको संरक्षणका लागि नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा अध्यक्षतामा ब्यवस्थापन समिति गठन भएको छ । समितिको उपाध्यक्षमा डा. विनोद कर्ण, सचिवमा समिरमान श्रेष्ठ, कोषाध्यक्षमा श्याम शाक्य र सदस्यहरुमा वडा नम्बर २१ का अध्यक्ष रञ्जित खाँ, श्रृष्टि गौतम र दीपक लोध रहनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका कर्मचारी पवन कनौजिया समितिको सदस्य सचिव तोकिनुभएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा राजनीतिक दलका प्रतिनिधी सदस्य रहेको अनूगमन समिति रहेको छ ।
समितिका अध्यक्ष समेत रहनुभएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले राष्ट्रिय जनावर गाई लगायतका छाडा छोडिएका पशु चौपायको ब्यवस्थापन र संरक्षणका लागि सहयोग गर्न सहयोगीहरुलाई बैंक खातामा रकम जम्मा गरिदिन अनुरोध गर्नुभएको छ । खातामा जम्मा भएको रकम समितिले परिचालन गर्नेछ ।