बाँकेका तारे होटलको भद्र सहमति तोडियो


नेपालगञ्ज ३ भदौ – अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्न गत फाल्गुण महिनामा बाँकेका तारे र ‘बिजनेश क्लास’ का होटल सञ्चालकले एउटा भद्र सहमति गरे । तह अनुसार मूल्यमा एकरुपता कायम गर्ने, पर्यटक ल्याउने ट्राभल एजेन्टसंग सकभर ‘क्यास’ कारोवार गर्नेदेखि व्यवसायिक एकताका लागि निरन्तर छलफलमा जुट्ने जस्ता विषय मुख्यरुपमा भद्र सहमतिमा समावेश थियो ।

भद्र सहमति अनुसार मूल्य कायम गरियो । मानसरोवर जस्ता सिजनल पर्यटक भित्रा्उने ट्राभलले पैसा चुक्ता नगर्दा हैरान बनेका होटल व्यवसायीले त्यस्ता ट्राभलससंग कारोवार नगर्नेसम्मको अनौपचारिक सहमति गरे । महिनामा कम्तिमा एक पटक बैठक बस्ने र सहमति उल्लंघन गरे ५० हजारसम्म जरिवाना गर्ने सहमति बनेको थियो । बिजनेश निरन्तर ओरालो लाग्दै गएको बेला बाँकेका ठुला होटलका सञ्चालक पहिलो पटक एकजुट हुँदै थिए । उनीहरु बीचको भद्र सहमतिले होटल व्यवसायमा हुने अस्वस्थ्य प्रतिस्पर्धा अन्त्य हुने अपेक्षा गरिएको थियो ।

तर उक्त भद्र सहमति केही महिनामै तोडिएको छ । अधिकांस होटलहरु यतिबेला आफ्नै तरिकाले सञ्चालन भइरहेका छन् । उक्त सहमति कार्यान्वयन हुन सकेन । पहिलो पटक एउटै टेबुलमा आएका ठुला होटल व्यवसायीको भद्र सहमति टिक्न सकेको छैन । होटल सञ्चालकहरुका अनुसार, पहिलो पटक बसेको बैठकपछि उक्त सहमति कार्यान्वयनका लागि चासो दिइएको छैन । त्यसका बारेमा फ्लोअप गरिएको छैन । ‘कस्ले पहिला सम्झौता तोड्यो भन्नेतिर नजाऔं तर सम्झौता अहिले कार्यान्वयनको अवस्थामा छैन ।’ एक तारे होटलका सञ्चालकले भने–‘व्यवसाय ओरालो लाग्दा पनि हामी एकजुट हुन सकेनौ ।’

बाँकेमा निर्माणाधिन सहित १३ वटा सुविधा सम्पन्न तारे होटलले उक्त सहमति गरेका थिए । होटल क्षेत्रमा अत्याधिक लगानी भए पनि बाँकेमा पछिल्लो समय बिजनेश अभाव छ । बिजनेश नपाउँदा होटल नै बिक्री गरेर लगानीकर्ताहरु अन्य पेशामा जाने अवस्था आएको बताउँछन् । ‘सुविधा अन्यत्रको भन्दा कम छैन तर शुल्क कम छ ।’ होटल सञ्चालकको भनाई छ,‘यसैमा पनि व्यवसायीबीच शुल्कमा एकरुपता छैन ।’

 

-होटल व्यवसायीको आन्तरिक नियम अनुसार यहाँका होटलसंग कारोवार गरी पैसा नतिरेका ट्राभल एजेन्सीलाई कालो सुचिमा राखिने छ । कालो सुचिमा राखेका ट्राभल एजेन्सीसंग कुनै पनि होटल व्यवसायीले कारोवार गर्न नपाउने आन्तरिक सहमति गरिएको थियो । 

-सहमतिमा आएका होटल व्यवसायीहरु एकअर्का प्रति पारदर्शीरुपमा प्रतिस्पर्धा गर्ने । एकअर्काका गतिबिधिहरु आपसमा बसेर छलफल गर्ने र स्वस्थ्य प्रतिस्पर्धाको वातावारण बनाउने सहमति गरेका छन् । यस्तै जुन तहको होटल हो त्यहीसंग व्यवसायीक कामहरु गर्ने आन्तरिक नियम बनाईएको थियो  ।

-सम्पुर्ण सेवाग्राहीले कारोवार सकिएको १५ दिन भित्र हरहिसाव पर्छौट गर्नुपर्ने छ ।  व्यवसायीहरुको नियम कार्यान्वयन गर्नका लागि उनीहरुले सजाएको व्यवस्था पनि गरेका छन् । नियम उल्लंघन गर्ने व्यवसायीलाई पहिलो पटक ५० हजारसम्म जरिवाना तोकिएको थियो  ।

https://nepalgunjbusiness.com/2019/08/10490/

प्रकाशित मितिः     ३ भाद्र २०७६, मंगलवार १०:४४  |