नेपालगञ्ज – १ करोड २५ लाखको लगानीम नेपालगञ्जको बिपीचोकमा मिर्टमार्ट खुलेको छ । मंगलवारदेखि संचालनमा आएको े मिट मार्टको उद्घाटन एक समारोहका विच प्रदेश नम्बर ५ का कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री आरती पौडेलले गरिन् । सो अवसरमा बोल्दै उनले स्थानीय किसानले उत्पादन गरेका खसी र कुखुरा खपत गर्न मिटमार्टका संचालकहरुलाई आग्रह गरिन् । भारतबाट ल्याईएका खसी र कुखुराले गर्दा स्थानीय किसानले उत्पादन गरेका खसी र कुखुराले राम्रो बजार नपाएको गुनासो धेरै आइरहेको जनाउँदै उनले त्यसमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिइन् ।
सो अवसरमा बोल्दै नेपालगन्ज उपमहानगरका मेयर डा.धवल शमसेर राणाले यस्ता अत्याधुनिक मिटमार्ट सञ्चालनमा आउँदा स्थानीय किसानको उत्पादन खपत हुनुका साथै जनताले सफा, स्वच्छ र शुद्ध मासु खान पाउने बताए । नगरका विभिन्न स्थानमा रहेका मासु पसलहरुलाई उपमहानगरपालिकाले व्यवस्थित गर्न खोजेको बेला यस्ता मिट मार्ट सञ्चालनमा आउँदा अरुलाई पनि प्रोत्साहन मिल्ने उनले बताए । सोही अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत, जय माता बागेश्वरी इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष निरन्जन राजभण्डारी र वरिष्ठ पशु चिकित्सक हरि बहादुर कुँवरले मासुको माग बढ्दै गएको बेला यो मिट मार्टले गर्दा यस क्षेत्रका किसान र उपभोक्ता दुबै लाभान्वित हुने बताए ।
प्रदेश कृषि मन्त्रालयको ५० लाख र व्यवसायीहरुको ७५ लाख गरेर १ करोड २५ लाखको लगानीमा सञ्चालन गरिएको सो मिट मार्टले बाँकेमा रहेको ताजा र शुद्ध मासुको मागलाई पुररा गर्न सहयोग गर्ने मिट मार्टका संचालक दिपेन्द्रराज श्रेष्ठले जनाएका छन् । सो मिट मार्टमा हलाल मासुको समेत व्यवस्था मिलाईएकोले सबैले मासु खरिद गर्न सक्ने संचालक श्रेष्ठले बताए । युवा व्यवसायी तथा बिभिन्न पेशामा आवद्ध व्यवसायी मिलेर मिट मार्ट सन्चालनमा ल्याएका हुन ।