नेपालगञ्ज -नेपालगञ्ज उपमहानगरपालिकाको सटर संख्या १ सय २३ पुगेको छ । नयाँ ५३ वटा सटर थपेको छ । ४२ वटा सटर बसपार्कमा र ११ वटा सटर उपमहानगरपालिकाको उत्तरतर्फ निर्माण भइरहेका छन् । हाल साना ठुला गरी झण्डै ८० वटा सटरबाट वार्षिक रु ६६ लाख आम्दानी गर्दै आएको उपमहानगरले यि सबै सटर भाडामा लगाउँदा वार्षिक ८० लाख बढि आम्दानी अुने अनुमान गरिएको छ ।
उपमहानगरपालिकाका बरिष्ठ आन्तरिक लेखापरिक्षक खिमानन्द अर्यालका अनुसार, बसपार्कमा पुराना २४ वटा सटर थिए । अहिले त्यहाँ ४२ वटा सटर थप गरिएको छ । ‘थपिएका मध्ये पनि ३२ वटा सटरको भाडामा दिइसकिएको छ । १० वटा बाँकी छन् ।’– अर्यालले भने,–‘त्यस्तै ११ वटा उपमहानगरको कार्यालयको उत्तरतर्फ बन्दै छन् ।’ उपमहानगरपालिकाका अनुसार, बसपार्कमा बनेका सटरबाट वार्षिक ६८ लाख र कार्यालय नजिक बन्दै गरेकासटरबाट १५ लाखसम्म आम्दानी हुने अपेक्षा गरिएका छ ।
अहिले उपमहानगरपालिकाको पूर्वी गेटमा रहेका २६ वटा सटरबाट वार्षिक ४० लाख आम्दानी भइरहेको छ । बसपार्क २४ वटा सटरबाट १८ लाख, सल्यानीबागमा रहेका २५ सटरबाट वार्षिक साढे ५ लाख र दैलेखी बंगलामा रहेका चारवटा टिरबाट डेढ लाख आम्दानी भइरहेको उपमहानगरले जनाएको छ । ‘सल्यानी बंगलामा साना सटर छन् । त्यही भएर आम्दानी कम देखिन्छ ।’– अर्यालले जानकारी दिए ।
उपमहानगरपालिकाका सटरहरु बजारमा चल्ती भाडादर भन्दा सस्तो छ । सुर्खेतरोडमै रहेका सटरको मासिक भाडा १३ हजार रहेको छ । त्यस्तै अन्यत्र ठाउँका सटरको मूल्य ६ हजारसम्म रहेको छ । समायोजना गर्दै जाँदा सटरबाट उपमहानगरलाई हुने आम्दानी बढ्ने अर्याल बताउँछन् । उनका अनुसार, सटर उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढाउने प्रमुख स्रोत भित्र पर्छ । पहिलो सम्पत्ति कर, दोस्रो घरनक्सा कर र सटर भाडा ।
‘आन्तरिक स्रोत बढाउन सटरले महत्वपूर्ण भूमिका खेलेको छ । यिनै स्रोत बढ्नाले त उपमहानगरपालिकाको वडा जाने बजेटमा पनि बढोत्तरी हुँदै आएको छ ।’– अर्यालले भने । गत वर्ष उपमहानगरको आन्तरिक स्रोततर्फ १४ करोड संकलन गर्दै आएको छ ।