नेपालगञ्जमा हुन्डाईको नयाँ गाडीको बिक्री खुल्ला, यस्ता छन् बिशेषता


नेपालगन्ज – हुन्डाईले आफ्नो चर्चित एसयूभी भेन्यू नेपालगञ्जसहित देशभरबाट बिक्री शुभारम्भ गरेको छ । यस क्षेत्रको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले  बिहीबार एक कार्यक्रमका बीच भेन्यूको बिक्री शुभारम्भ गरेका हुन् । हिम अटोका प्रबन्धक रविन्सन श्रेष्ठ, हुण्डाईकै सेल्स म्यानेजर बिमल गौतम लगायतले नयाँ गाडीको उद्घाटन गरे ।

हुन्डाईको बहुप्रतिक्षित यो गाडी नेपाली बजारमा निकै लोकप्रिय हुने कम्पनीको विश्वास छ । नेपाली बजारमा ३४ लाख ९६ हजार सुरुवाती मूल्य रहेको भेन्यूको माथिल्लो मूल्य ५३ लाख ५६ हजार रुपैयाँसम्म छ । भारतमा केही महिनाअघि सार्वजनिक भएको भेन्यू तीनवटा इन्जिन अप्सन १.२ कप्पा पेट्रोल, १.० लिटर ३ सिलिन्टर टर्बोचाज्र्ड पेट्रोल र १.४ लिटर, फोर सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध छ ।

भेन्यूको सबैभन्दा सबल पक्षको रुपमा ६९ प्रतिशत एड्भान्स हाई स्ट्रेन्थ स्टिलबाट बडी निर्माण हुनु रहेको कम्पनीले दाबी गर्दै आएको छ । हुन्डाईका निकै महंगा गाडी कोना र सान्ता फेबाट प्रेरित रहेको भेन्यूको अगाडिको आफ्नो चर्चित सिग्नेचर ग्रिलको प्रयोग गरिएको छ । गाडीको पछाडिको भाग निकै आकर्षक र स्टाइलिस रहेको छ । यसमा कम्पनीले नयाँ डिजाइनको टेल ल्याम्प दिएको छ ।

३९९५ एमएम लम्बाई, १७७० एमएम चौडाई र १५९० एमएम उचाई रहेको भेन्यूमा ह्वीलबेस २५०० एमएमको दिइएको छ । ठूलो क्याविन र स्पोर्टी सिटले सबैलाई लोभ्याउन सक्ने छ । कारमा इलेक्ट्रीक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्युरिफायर र क्रुज कन्ट्रोल जस्ता फिचरहरु रहेको छ । ड्यास बोर्डमा निकै स्टाइलिससँग सजाइएको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमले जो कोहीलाई लोभ्याउँन सक्छ ।

भेन्यू भारतकै पहिलो स्मार्ट कनेक्टेड गाडीसमेत बनेको छ । यसमा दिइएको ब्लू लिंक टेक्नोलोजीले गाडी घरमै बसेर कन्ट्रोल गर्न सकिन्छ । ३३ स्मार्ट कनेक्टेड फिचर यसमा रहेको भएपनि नेपालमा कतिवटा फिचरले काम गर्न सक्छ अहिल्यै बताउन सक्ने अवस्था छैन । यसमा दिइएको कनेक्टीभीटी टेक्नोलोजीले एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, इन्जिन, सेफ्टी र अन्य फिचरको पनि जानकारी दिनेछ ।

कम्पनीले भेन्यूलाई तीन इन्जिन अप्सनमा बजारमा उतारेको छ । जसमा १.० लिटर टर्बो चाज्र्ड पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल रहेको छ । १.० लिटर कप्पा टी–जीडीआई पेट्रोल इन्जिनले १२० पीएसको पावर र १७.५ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ७ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिशन दिइएको छ ।

भेन्यूको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ । त्यस्तै १.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर २२० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

प्रकाशित मितिः     ५ भाद्र २०७६, बिहीबार १६:४५  |