कोहलपुरमा ५ सय क्षमताको सिटीहल सुनिश्चित, १५ वटा हाईमास्ट लाइट जडान हुने


  • भीम रावत

कोहलपुर- कोहलपुरमा ५ सय जना व्यक्ति अटाउन सक्ने क्षमता भएको सिटीहल निर्माण हुने सुनिश्चित भएको छ । धेरै वर्ष अघि देखि छलफलमा रहेको र डिपिआर समेत भइसकेको भए पनि लामो समय देखि प्रतिक्षा गरिएको तर मुर्त रुप लिन नसकेको सिटीहल निर्माण कार्यले मूर्त रुप लिएको छ ।
शुक्रबार संघीय सरकारका शहरी विकास मन्त्री माननीय ईस्तियाक राई र कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत बिच मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति भएको हो । डिपिआर निर्माण भई निर्माणका लागि अलमलमा परेको सिटीहल ५ सय जना व्यक्ति अटाउने क्षमता भएको हुने छ । सो सिटीहल १ हजार जना व्यक्ति अटाउने क्षमता भएको बनाउनु पर्ने नगर प्रमुखले प्रस्ताव राखे पनि मन्त्री राईले भने ‘त्यति ठूलो क्षमताको हलको लागि श्रोत सुनिश्चित गर्न नसकिने तर ५ सय क्षमताको भए आफूले रिस्क लिएर भए पनि निर्माण गराउँछु , त्यसको लागि करिब रु १० करोड मन्त्रालयले रिस्क लिन्छ ’ ।
मन्त्रीको सो भनाईलाई नगर प्रमुखले ‘कोहलपुरमा १ हजार क्षमताको कुरा मात्र हुने काम नहुने स्थिति हो भने ५ सय क्षमताको भए पनि हल कोहलपुर क्षेत्रको मागलाई सम्बोधन हुन्छ’ भने पछि मन्त्री राईले थपे,‘ त्यसो भए मेयर साब एक हप्ता भित्रै मैले निर्माणका ट्याण्डर निकाल्न लगाउछु , तपाई ढुक्क भएर जानोस्’। कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको दोश्रो चरण अन्तरगत तिस मिटर सडकमा पर्ने २ विगाह जग्गामा सो सिटीहल निर्माण हुने छ ।
त्यस्तै कोहलपुर क्षेत्रमा रु २ करोडमा १५ वटा हाइम्याक्स लाइट जडानका लागि ठेक्का समेत भइसकेको छ । मन्त्री सँगको छलफलमा नगर प्रमुख रावतले जनताको माग धेरै रहेको बताए पछि मन्त्री राईले आवश्यकता परेमा यसै आर्थिक वर्षमा मन्त्रालयको तर्फबाट आफूले थप पाँच वटा हाइम्याक्स लाइटको व्यवस्था गरिदिने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मितिः     ६ भाद्र २०७६, शुक्रबार १७:१०  |