नेपालगञ्ज -नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडका पीडितले संघर्ष समिति बनाएर रकम फिर्ताका लागि सरकारलाई दवाव दिने भएका छन् । ठुलो संख्याका पीडितहरु आज शनिवार नगरभवनमा जम्मा भएर के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको जिल्ला सहकारीले यसअघि गठन गरेको छानबिन समितिले देखाएको छ । ५२ करोड अधिकतम् पूँजी रहेको सहकारीको झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदनमा छ । यो रकम अझै बढ्ने सम्भावना छ । अपचलनका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा प्रक्रिया अगाडी बढाएको छ ।
यता सहकारी कार्यालय बन्द छ भने सञ्चालकहरु तिर्थाटनका लागि हरिद्धार गएको पीडित बताउँछन् । नगरभवनमा भेला भएका पीडितको एउटै स्वर थियो,–‘सहकारी अहिले बन्द छ । सञ्चालकहरु हरिद्धार गए भन्ने सुनिएको छ । अब हाम्रो पैसा कस्ले फिर्ता गर्छ ?’ गाउँ गाउँबाट सामान्य खेती किसानी गर्ने सहकारी पीडितले सरोकारवाला निकायले छिटो मुद्दाको छिनोफानो गर्नुपर्ने माग गरेका छन् । उनीहरुले अब चरणबद्ध रुपमा सरकारलाई रकम फिर्ताका लागि दवाव दिने बताएका छन् ।