उपमहानगरले भन्यो,–‘नेपालगञ्जको विकासका लागि मन्त्री र मेयर एकरथका दुई पांग्रा’


नेपालगञ्ज ८ भदौ – नेपालगञ्ज उपमहानगरपालिकाले विकासका मुद्दा शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईसंग कुनै विवाद नभएको प्रष्टिकरण दिएको छ । मन्त्री र मेयरबीचको कलहले विकासका मुद्दा प्रभावित भएको भन्ने बहस सतहमा आए पछि उपमहानगरपालिकाले विवाद नभएको दावी गरेको हो ।

बिविध विषय सार्वजनिक गर्न मेयर राणाको उपस्थितीमा आज आईतवार उपमहानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरेको थियो । उक्त पत्रकार सम्मेलनमा उपमहानगरको तर्फबाट बोल्दै प्रवक्ता प्रमोद रिजालले ‘मेयर र मन्त्री राईबीचको बिवाद भएको भन्ने विषय’लाई खण्डन गरे । बिज्ञप्तीमै उक्त विषयलाई प्रमुखताका साथ उल्लेख गरिएको छ ।

‘शहरी विकास मन्त्री र मेयर दुई होनहार नेतृत्व यो नगरले पाएको छ ।’ बिज्ञप्तीमा भनिएको छ,–‘यद्यपी विकासका मुद्दामा यि दुई हस्तिबीचको सम्बन्धलाई धुमल्याउने गरी अर्नगल प्रचारबाजी प्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ ।’ नगर प्रमुख र शहरी विकास मन्त्रीलाई एक रथका दुई पांग्रा भन्दै उपमहानगरपालिकाले संयूक्त पांग्राबाट नगरको विकासको रथ अगाडी बढ्ने कुरामा दुई मत हुन नसक्ने उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर राणाले विकासका मुद्दामा विवाद गर्न नहुने बताए । उनले नगरबासीलाई प्रश्नसंगै सल्लाह र सुझाव समेत दिन आह्वान गरेका छन् । ‘प्रश्न गर्न पाउने अधिकार छ । प्रश्नसंगै आवश्यक सल्लाह र सुझाव पनि पाउँ ।’ मेयर राणाले भने–‘यो हामी संबैको नगर हो । विकासमा हातेमालो गरौं ।’ मेयर राणाले बागेश्वरी मन्दिर छेउमा सटर बनाउने बिषयमा स्पष्ट जवाफ दिएनन् । बागेश्वरी गुठीका अध्यक्ष समेत रहेका मेयर राणाले राम्रै होस् भने सटर बनाउने योजना बनेको बताए ।

प्रकाशित मितिः     ८ भाद्र २०७६, आईतवार १६:०८  |