फिक जरिवाना १५ हजारसम्म पुग्ने


काठमाडौं ।ट्राफिक जरिवाना चार डिजिटको बनाउने तयारी गरिएको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐन मार्फत ट्राफिक नियम उल्लङघन गरेवापतको जरिवाना चार डिजिटको बनाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।
उनका अनुसार नियम उल्लङघनको प्रकृति हेरेर तीन गुणसम्म पनि जरिवाना गर्न सक्ने व्यवस्था गर्न लागिएको छ । विभागले अहिले संघीय ऐनको ड्राफ्टलाई फाईनल गरिरहेको छ। केही समयभित्रै उक्त ड्राफ्ट तयार भई मन्त्रालय जानेछ।

मन्त्रालयबाट मन्त्रीपरिषद हुँदै संसदबाट पास गराउनुपर्ने हुन्छ। देश संघीयता रुपान्तरण भएको लामो समय भैसकेको भएपनि अहिलेसम्म संघीय यातायात ऐन भने बनिसकेको छैन। न्यून जरिवना रहेका कारण ट्राफिक नियम उल्लङघन गर्नेको सङख्या बढेको र त्यसले दुर्घटना बढाएको भन्दै विभागले प्रकृति हेरेर जरिवाना बढाउन लागेको हो।

भारतको नयाँ दिल्लीमा लेन मिचेको १० हजार रुपैयाँ भारु जरिवाना तोकिएको छ। जसका कारण लेन मिच्ने हिम्मत सवारीचालकहरुले गर्न सक्दैनन् । जरिवाना बढाएपछि ट्राफिक नियम उल्लङघनको सङख्या घट्ने अपेक्षा गरिएको छ।जसले दुर्घटना कम हुनुका साथै अस्तव्यस्तता रोक्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अहिले ट्राफिक नियम उल्लंघन गरेवापत ५ सय रुपैया देखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। अब आउने संघीय ऐन जस्ताको तस्तै पास भए न्युनतम एक हजार रुपैयाँ देखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ। दुर्घटनाको प्रकृति हेरेर जरिवाना तोकिएको हमालले जानकारी दिए ।

प्रकाशित मितिः     ९ भाद्र २०७६, सोमबार १९:०१  |