काठमाण्डौं – निजी क्षेत्रको वायुसेवा सञ्चालक कम्पनी बुद्ध एयरले दुर्गम क्षेत्रमा पनि उडान गर्ने तयारी गरिरहेको छ। हालसम्म सुगम क्षेत्र र लामो धावनमार्ग भएका विमानस्थलमा उडान गरिरहेको विमानस्थलले छोटो धावनमार्ग भएका दुर्गमका विमानस्थल(स्टोल)मा उडान शुरु गर्ने तयारी गरेको हो। कम्पनीले उडानका तयारी गरिरहेको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।
यसका लागि बुद्धले फरक कम्पनी बनाउने छ। फरक नाम र स्वायत्त कम्पनीबाट यस्तो उडान शुरु गरिने बस्नेतको भनाइ छ। उक्त कम्पनीमा बुद्ध एयरको ५५ प्रतिशत सेयर हुने छ भने कर्मचारिको ४५ प्रतिशत। छोटो धावनमार्गमा उडान गर्न मिल्ने जहाजबाट उडान गर्ने तयारी गरेको कम्पनीले अहिले अमेरिकी कम्पनीसँग छलफल गरिररहेको छ।
‘हामी अहिले नेगोसियसनकै क्रममा छौं जहाजको नाम र मूल्यको बारेमा कुनै टुंगो लागेको छैन’ बस्नेतले भने। यो सेवा शुरु गर्नका लागि शुरुमा ५ वटा जहाज खरिद गर्ने कम्पनीको योजना रहेको छ। विस्तारै जहाज संख्या १० पुर्याउने लक्ष्य राखेको कम्पनीले नयाँ जहाज खरिद गर्ने छ। अबको १ वर्षभित्र कम्पनीले सेवा शुरु गरिसक्ने बस्नेतको विश्वास छ। ‘ अहिले हाम्रो तयारी धेरे अघि बढिसकेको छ हामी अबको १ वर्षभित्र बजारमा आइसक्छौ’ बस्नेतले भने।
नयाँ खुल्ने एयरलाइन्सले काठमाडौं,पोखरा र नेपालगञ्जलाई आधार बनाएर उडान गर्ने छ। लुक्ला, डोल्पा,हुम्ला तथा सुदुरपश्चिमका कतिपय विमानस्थललाई व्यापारका हिसाबले आकर्षक मानिन्छ। विशेषगरी डलर आम्दानी हुने लुक्ला र जोमशोमका लागि अहिले सिमित एयरलाइन्सकोमात्र सेवा रहेको छ। बुद्ध एयरको नयाँ कम्पनीले पहाडी क्षेत्रका र अरु एयरलाइन्सले सेवा दिन नसकेका ठाउँमा जाने छ। बुद्धले हाल तराई प्राय सबै विमानस्थल, पोखरा र तुम्लिङटारमा उडान गरिरहेको छ। आन्तरिक हवाई बजारकव सबैभन्दा ठूलो एयरलाइन्स बुद्धले हाल भारतको कोलकत्ता र वाणारासीमा पनि उडान गरिरहेको छ।