थन्कियो घुम्ती शौचालय,आवश्यकताका आधार उपलब्ध हुन्छ–उपमहानगर


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको सार्वजनिक घुम्ती शौचालय थन्काएका छन् । चोक–चोकमा राखिएका घुम्ती शौचालय लामो समयदेखि जिल्ला समन्वय समितिको सवारी पार्किङ्गमा थन्काइएको छ । शौचको समस्या हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले ५९ लाखको लागतमा ४ वटा घुम्ती शौचालय ल्याएको थियो ।  ती शौचालयलाई शहरका भिडभाड हुने चोकमा राखिएको थियो । ठेकेदार मार्फत सञ्चालनमा गरिएका घुम्ती शौचालय प्रयोग गरे वापत निश्चित शुल्क दिनुपथ्र्यो ।

तर कसैले त्यसरी पैसा दिन नमानेपछि ठेकेदार आफैले शौचालय सञ्चालन गर्न इच्छा देखाएनन् । सञ्चालन खर्च नै नउठ्ने देखिए पछि शौचालय थन्काउनुपरेको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले उपयोग बिहिन भएर शौचालय नथन्काएको बताए । ‘पैसा नतिर्ने समस्या देखिएकै हो । तर त्यही कारणले थन्काउनुपरेको भने होइन ।’ प्याकुरेलले भने–‘अब हामी अलि फरक तरिकाले त्यसको उपयोग गर्छौ ।’

प्याकुरेलका अनुसार, सभा समारोह, महोत्सव जस्ता कार्यक्रमका लागि घुम्ती शौचालय एकदमै उपयोग िसावित भएको छ । उनले भने,–‘आठौ राष्ट्रिय खेलकुदमा त असाध्यै उपयोगी सावित भयो । अब हामी मुख्यरुप यस्तै कार्यक्रममा प्रयोग गर्छौ ।’ कार्यक्रमका साथै नेपालगञ्ज भन्सार, बसपार्क जस्ता क्षेत्रमा पनि घुम्ती शौचालय राख्ने तयारी गरिएको छ ।

डेढ दर्जन शौचालय बन्दै

नेपालगञ्ज उपमहानगरपालिका भित्र डेढ दर्जन शौचालय बन्दै छन् । अत्याधुनिक सुविधा सम्पन्न शौचालय धम्बोझीमा बन्दै छ । उक्त शौचालय चाँडै सञ्चालन आउने छ । त्यस बाहेक प्रत्येक वडामा पर्ने गरी सुविधा सम्पन्न शौचालय निर्माणको काम भइरहेको छ ।

प्रकाशित मितिः     १७ श्रावण २०७६, शुक्रबार ०७:४५  |