कर संकलन र नयाँ व्यवसाय दर्ताका लागि सल्यानका यि चार ठाउँमा शिविर सञ्चालन गरिने


सल्यान – सल्यान उद्योग वाणिज्य संघले अन्त शुल्क इजाजत नलिई मदिराको विक्रि वितरण नगर्न र दर्ता गरेर मात्र व्यवसाय गर्न आग्रह गरेको छ । जिल्लाका विभिन्न वजार क्षेत्रहरुमा मदिरा जन्य बस्तुको अन्त शुल्क इजाजत नलिई विक्रि वितरण गरेको र पसल, व्यापार दर्ता नभई, व्यवसाय दर्ता नगरी संचालन गरेको भन्ने गुनासो आएको महासचिव भरतकुमार बस्नेतले बताए ।

त्यस्ता गुनासा आएपछि व्यवसायीलाई अनिवार्य रुपमा अन्त शुल्क इजाजत पत्र लिएर मात्र आफ्नो व्यापार व्यवसाय गर्न सुझाव दिइएको छ । सल्यान उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङ्गको सयूक्त डोर टोली कर संकलन, नविकरण, नयां दर्ता गर्न चार दिने शिविर नै सञ्चालन गर्ने तयारी गरिएको महासचिव बस्नेतले जानकारी दिए । उनका अनुसार, ४ दिनसम्म सल्यानका थारमारे, श्रीनगर, सल्लीबजार र कपुरकोटमा शिविर सञ्चालन हुने छ ।

श्रावण २० गते थारमारे बजार बाट शुरू हुने शिविर श्रावण २१ गते श्रीनगर बजार, श्रावण २२ गते सल्लीबजार र श्रावण २३ गते कपुरकोटमा पुगेर समापन हुनेछ । नयां दर्ताका लागि व्यवसायीहरूले व्यवसाय गर्ने सम्बन्धीत नगरपालिकाको वा गाउपालिकाको वडा कार्यालयको प्रमाण पत्र र सिफारिस, पासपोर्ट साईजको फोटो १० प्रति, नागरिकताको फोटोकपी ३ प्रति, जग्गा धनी लाल पुर्जाको फोटो कपी २ प्रति अनि घर भाडामा भए भाडा सम्झौता पत्र र नागरिकताको फोटोकपी, घरधनीको लालपुर्जाको फोटोकपी पेस गर्नुपर्नेछ ।

प्रकाशित मितिः     १७ श्रावण २०७६, शुक्रबार १९:१५  |