सीताराम यादवलाई तारे होटल ‘ओपनिङ्ग’को चटारो


नेपालगञ्ज – सीताराम यादवलाई तीन तारे होटल ‘द गोल्डेन ब्लिस’को ‘ओपनिङ्ग’को चटारो छ यतिबेला । एकवर्ष अघि शुरु भएको होटलको निर्माणको काम लगभग सकिएको छ । सबै काम सकिए साउन २५ गते होटलको ‘ओपनिङ्ग’ गर्ने मन बनाएका छन् उनले । त्यसैका लागि ‘बचेखुचे’को काम सक्न कामदार मरिमेटेर लागेका छन् । तर ‘ओपनिङ्ग’ कै हतारोमा ‘फिनिसिङ्ग’ खराव गर्ने पक्षमा छैनन् उनी । भन्छन्,–‘यत्रो लगानी भइसके पछि कतै पनि खोट नदेखियोस् भन्नेमा होसियार छु ।’ उनले फिनिसिङ्ग’ राम्रो भए/नभएको प्रत्यक्ष निगरानी गरिरहेका बताउँदे सीताराम भन्छन्,–‘पूर्वाधार निर्माणको काम सकियो अब त ओपनिङ्ग मात्र बाँकी छ । त्यो दिन पनि आइसक्यो । जतिसक्यो छिटो शुरु गर्छु ।’

राँझा विमानस्थल नजिकै सुर्खेतरोडसंग जोडिएको होटल ‘द गोल्डेन ब्लिस’ मा हालसम्म रु ४० करोड बढि लगानी भइसकेको छ । होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, ब्यांक्वेट, डिलक्स,स्वीट, कर्पोरेट र सिंगल रुम तयार भइरहेको छ । होटलमा क्यासिनो समेत सञ्चालन योजना छ । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्जमा सञ्चालनमा ल्याउन लागिएको द गोल्डेन ब्लिस होटल नयाँ भए पनि हस्पिटालिटी क्षेत्रमा सीताराम यादव भने नयाँ होइनन् । यस क्षेत्रमा यादवको दुई दशक लामो अनुभव छ । त्यही अनुभवले आत्मविश्वासी बनेका यादव आफ्नै तारे होटल हाँक्ने अवस्थामा आइपुगेका छन् ।

सीताराम नेपालगञ्ज–२० मनिकापुरमा आमा सोनादेवी यादव र बुवा उधौ यादवबाट २०४२ सालमा जन्मिए । उनका बुवा साविकको मनिकापुर गाविसको अध्यक्ष समेत हुन । अहिले पनि राजनीतिमा सक्रिय छन् । सीतारामका लागि व्यवसाय र राजनीति नयाँ क्षेत्र होइन । तर उनले राजनीतिक भन्दा होटल क्षेत्रमै आफुलाई खरोरुपमा उतारो । टिनएजर हुँदैदेखि हस्पिटालिटी क्षेत्रमा लागे ।

बाटिका होटल, काठमाण्डौमा कुमारी होटल लिजमा लिएर व्यवस्थापन सम्हाले । नेपालगञ्जकै पुरानो होटल भेरी त अहिले पनि सम्हालिरहेका छन् । ‘कुल मिलाएर बीस वर्ष जति भए छ होटल क्षेत्रमा लागेको, आधा भन्दा बढि उमेर यसैमा बिताए छु ।’–बन्दै गरेको होटलका बारेमा जानकारी गराउँदै गर्दा आफ्ना पुराना दिन सम्झदै यादवले भने,–‘अहिलेसम्म अन्तै व्यवस्थापन सम्हालेको थिए । त्यसक्रममा थुप्रै कुरा सिक्ने मौका पाए । अब त्यहाँ सिकेका कुरा यहाँ लागू गर्छु ।’

तारे होटलको संख्या बढ्दै गएको तर बिजनेश नपाउँदा होटल चलाउन मुस्किल भइरहेका बेला सीतारामले होटल क्षेत्रमा लगानी गरेका छन् । नेपालगञ्जको हस्पिटालिटी क्षेत्रको सम्भावना र चुनौतीलाई बुझेरै आफुले लगानी गरेको उनी बताउँछन् । यादव भन्छन्,–‘बाँकेको होटल व्यवसायका क्षेत्रमा थुप्रै चुनौती छन् ।  सम्भावना पनि छन् । सम्भावनाको खोजी गर्दै चुनौतीको सामना गर्न सक्छु भन्ने आत्मबिश्वास छ ।’ संघीयता कार्यान्वयन पछि नेपालगञ्जबाट मान्छेको ‘फ्लो’ कम हुनु र राज्यको नजरबाट बाँके झन्झन् ओझेलमा पर्दै जानु प्रमुख चुनौती भएको यादवले बताए । ‘हिजोको नेपालगञ्ज र आजको नेपालगञ्जमा धेरै फरक छ । नयाँ नयाँ लगानी सहितका पूर्वाधारका कुरा आइरहेका छन् । तर मान्छेको फ्लो घट्दै छ ।’– उनले भने ।

यि दुई कारण बाहेक होटल व्यवसायमा आउन खोज्ने अनियन्त्रित भिड पनि चूनौतीपूर्ण बन्दै गएको उनले महसुस गरेका छन् । होटलमा जति पनि लगानी गर्न बैंक तयार हुने र बजारको सम्भावना हेर्दै नहेरी होटल खोलिहाल्ने प्रवृत्तीका कारण समस्या बढ्दै गएको उनको बुझाई छ । यादव प्रश्न गर्दै भन्छन्,–‘व्यवसायीले बजार खोज्दैन । ऋण दिने बैंकले जसरी पनि सावा, ब्याँज खोज्छ । उसले व्यवस्थापन खोज्ने त होइन । अनि डुब्दैन त होटल ?’ व्यवसायीले होटलको स्तर बढाउँदै लैजानुपर्ने र व्यवस्थापन पक्षलाई बलियो बनाउन सक्नुपर्ने यादवले उल्लेख गरे । ‘नत्र होटल खोल्ने बित्तिकै हुरर््हुर्रती मान्छे त आउँदैनन् नी !’– यादवले भने ।

३५ वर्षको उमेरमा तारे होटल हाँक्दै गरेका सीतारामले आगामी दिनमा थप नयाँ प्रोजेक्ट सञ्चालन गर्ने योजना बनाएका छन् । तर त्यस अघि अहिलेको होटललाई सफल बनाउनु उनको प्रमुख चुनौती हो । नेपालगञ्ज बिजनेशसंगको कुराकानीलाई बिट मार्दै यादवले भने,–‘हस्पिटालिटी क्षेत्र मेरो लागि सौखको बिषय पनि बनेको छ । आगामी यात्रा राम्रै हुन्छ भन्ने बिश्वास छ ।’

प्रकाशित मितिः     १८ श्रावण २०७६, शनिबार ०७:५५  |