प्रदेश सरकारद्धारा बाँके र बर्दियाका ५ सहकारीलाई गाडी प्रदान


बाँके १७ साउन – प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बाँके र बर्दियाका ५ वटा सहकारीलाई महेन्द्रा पिकअप गाडी प्रदान गरेको छ । शनिवार कोहलपुर शित भण्डारमा एक कार्यक्रमको आयोजना गरी सहकारीबाट सञ्चालन भएका कृषि संकलन केन्द्र तथा कृषि हाट बजारमा तरकारी ढुवानीको लागि उक्त गाडीहरु प्रदान गरिएको हो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुलाई गाडीको चाँपी प्रदान गरिन् । कृषी मन्त्रालयले भेरी शित भण्डार सहकारी संस्था लि. कोहलपुर, आस्था बहुउद्धेश्यिय सहकारी संस्था लि. कोहलपुर, एभरेष्ट कृषि सहकारी संस्था लि. बैजनाथ, साना किसान कृषि सहकारी संस्था लि. बढैयाताल बर्दिया र मिलन कृषि बहुउद्धेश्यिय सहकारी संस्था लि. बढैयाताल बर्दियालाई अनुदानमा गाडी उपलब्ध गराएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेश ५ सरकारले कृषि सहकारी मार्फत किसानहरुको उत्पादन बजारीकरणमा विषेश जोड दिइएको बताइन् । यसअघि मन्त्रालयले १४ वटा सहकारी संस्थाहरुलाई गाडी प्रदान गरिसकेको बताउँदै मन्त्री पौडेलले दोस्रो चरणमा बाँके र बर्दियाका पाँच वटा सहकारीलाई गाडी प्रदान गरिएको जानकारी दिइन् । मन्त्रालयको १० लाख र सहकारी स्वयंको ११ लाख ९५ हजार रुपैयाँ गरी कुल २१ लाख ९५ हजारमा महेन्द्र कम्पनीका पिकअप गाडी हस्तान्तरण गरिएको हो ।

प्रकाशित मितिः     १८ श्रावण २०७६, शनिबार १९:१४  |