‘सहकारीमा व्याजदरको सीमा तोक्ने निर्णय पूर्णरुपमा कार्यान्वयन हुन्छ’


नेपालगञ्ज – सहकारीले ऋणमा १६ % भन्दा कम ब्याज लिनुपर्ने र निक्षेपमा १० % सम्म दिनुपर्ने सहकारी विभागको निर्देशन बाँकेमा पूर्णरुपमा कार्यान्वयन हुने भएको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले ‘नयाँ नियम सहकारी अभियानबाटै उठेको र अहिले सुनुवाई’भएको बताए ।

‘यसले विशुद्ध सहकारीको मर्म अनुसार चलेका सहकारीलाई कुनै समस्या पार्दैन । संस्थादेखि सदस्य सम्मलाई राम्रै गर्छ ।’ अध्यक्ष सुवेदीले नेपालगञ्ज बिजनेशसंग भने–‘हामीले नै उठाएको आवाज अनुसार नयाँ नियम आएकाले कार्यान्वयनमा कुनै समस्या हुँदैन ।’ आज आईतवारबाट सबै सहकार्यले नयाँ नियम कार्यान्वयन गर्ने अध्यक्ष सुवेदीले दावी गरे ।

बाँकेमा चारसय बढि सहकार्य सञ्चालनमा छन् । यि सहकारीबाट झण्डै पाँच अर्ब बराबरको कारोवार भएको छ । पछिल्लो समय कयौं सहकारी निक्षेपकर्ताको पैसा फिर्ता नगरेर डुबेका छन् । सहकारीमा यस्ता समस्या उब्जिरहेका बेला आएको सहकारी विभागको निर्देशन कार्यान्वयनले धेरै समस्या हल हुने अपेक्षा गरिएको छ ।

तर जिल्ला तहमा सहकारी अनुगमनको भरपर्दो संयन्यत्र नभएका कारण ब्याजदरको सीमा कायम गर्ने नियम कार्यान्वयन भए नभएको थाहा पाउन मुस्किल हुने देखिएको छ । अध्यक्ष सुवेदीले संघ र प्रदेश सकारले अलग्गे यूनिट बनाएर त्यसको अनुगमन गर्ने तयारी भइरहेको बताए ।

https://nepalgunjbusiness.com/2019/08/9852/

प्रकाशित मितिः     १९ श्रावण २०७६, आईतवार १६:४८  |