काठमाडौं । एक वर्षको अवधिमै चालू खाता २० अर्ब रुपैयाँ घाटामा पुगेको छ । आर्थिक वर्ष २०७४/०७५ मा २ खर्ब ४५ अर्ब रुपैयाँ घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०७५/०७६ मा २ खर्ब ६५ अर्ब रुपैयाँ पुगको हो । अघिल्लो वर्षको तुलनामा गत आवमा २० अर्ब रुपैयाँ घाटा बढेको हो ।
सरकारले अनावश्यक वस्तु आयातमा रोक लगानी नीति लिए पनि त्यसको प्रभावकारी रुपमा कार्यान्वयन भएको र अत्यधिक मात्रामा आयात बढेकाले चालू खाता एकै बर्षमा २० अर्ब रुपैयाँ घाटा पुगेको हो । सरकारले विद्युतबाट सञ्चालन हुन सक्ने क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिँदा पनि त्यसको सकारात्मक प्रभाव नपरेको र जुन रेसियोमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ, सोही गतिमा आयात भएको देखिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २ खर्ब रुपैयाँ बरारबको पेट्रोलियम पदार्थ आयात भएको देखिएको छ ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको गत आव २०७५/०७६ को ‘मुलुकको आर्थिक तथा वित्तीय स्थिति’मा चालू खाता झन घाटामा गएको देखिएको हो । त्यसैगरी, सरकारले लिएको लक्ष्यभन्दा एक प्रतिशत बिन्दुले आर्थिक वृद्धिदर कम हासिल भएको देखाएको हो । ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि पुग्न कृषि क्षेत्रको ५, उद्योगको ८ दशमलव २ तथा सेवा क्षेत्रको वृद्धिदर ७ दशलमव ३ प्रतिशत रहेको थियो । आर्थिक वृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७, १५ दशलमव २ र ५७ दशलमव ८ प्रतिशत छ ।
गत आवमा वार्षिक औसत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ६ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मूल्यवृद्धि ४ दशमलव २ प्रतिशत रहेको थियो ।गत आवमा कुल वस्तु आयात १३ दशलमव ९ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २५ दशमवल ८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२ दशलमव ८ प्रतिशत, चीनबाट भएको आयात २८ दशलमव ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८ दशलमव ९ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, तयारी पोसाक, विद्युतीय सामान, अन्य मेसिनरी पार्टपुर्जा, एमएस बिलेटलगायत वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लास्टिक दानालगायत वस्तुको आयात घटेको छ ।
कुल वस्तु व्यापार घाटा १३ दशलमव ५ प्रतिशतले विस्तार भई १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८ दशलमव १ प्रतिशत छ । निर्यात–आयात अनुपात ६ दशलमव ८ प्रतिशत छ । अघिल्लो वर्ष अनुपात ६ दशवमव ५ प्रतिशत थियो ।
अर्थतन्त्रका परिसूचक
– शोधनान्तर घाटा ६७ अर्ब ४० करोड
– चालू खाता घाटा दुई खर्ब ६५ अर्ब ३७ करोड
– मूल्य वृद्धिदर ४ दशलमव ६ प्रतिशत
– वस्तु निर्यात ९७ अर्ब ११ करोड
– वस्तु आयात १४ खर्ब १८ अर्ब
– व्यापार घाटा १३ खर्ब २१ अर्ब
– विप्रेषण ८ खर्ब ७९ अर्ब २७ करोड
– विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब
– सरकारी खर्च १० खर्ब ३१ अर्ब
– राजस्व आय ८ खर्ब ६५ अर्ब
यस्तै, गत आवमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा छ । अघिल्लो वर्ष ९६ करोडले बचतमा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा ५९ करोड १० लाखले घाटामा रहेको छ । पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड थियो ।
राष्ट्र बैङ्कका अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो असारमा यो ११ खर्ब दुई अर्ब ५९ करोडमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष यो १० अर्ब आठ करोड रहेकोमा गत असार मसान्तमा ९ अर्ब ५० करोडमा झरेको हो ।
गत आवमा सरकारको कुल खर्च १० खर्ब ३१ अर्ब १५ करोड पुगेको छ । राजस्व परिचालन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) आठ खर्ब ६५ अर्ब ५५ करोड छ । गत आवमा कुल पर्यटक आगमनमा २३/९ प्रतिशतले वृद्धि भई पर्यटक संख्या १२ लाख ३८ हजार पाँच सय ८९ पुगेको छ ।