- क्यापिटल नेपालबाट
काठमाडौं । फरक फरक व्यक्तिको सहभागिता हुँदा भन्सारबाट गाडी छुट्न लामो समय लाग्ने भएपछि भन्सार विभागले प्रज्ञापनपत्र र एक्जिट नोट जारी गर्ने अधिकार एउटै व्यक्तिलाई दिएको छ ।
‘अबदेखि जसले प्रज्ञापनपत्र जारी गर्छ उसैले एक्जिट नोट (गाडीहरु बाहिर जान दिने) गर्ने अधिकार दिइएको छ,’ भन्सार विभागका एक उच्च अधिकारीले भने, ‘एउटै व्यक्तिलाई दुवै अधिकार दिएपछि भन्सारमा गाडीको लाइन पनि नहुने र प्रक्रिया पनि छोटिन्छ ।’
भन्सारको एउटा कर्मचारीले प्रज्ञापन पत्र जारी र अर्को व्यक्तिले एक्जिट नोट जारी गर्ने व्यवस्था थियो । त्यसाे हुँदा व्यापारीलाई पनि अत्यन्तै झन्झट भएको र अनावश्यक कर्मचारीको सहभागिता हुँदा विभिन्न शङ्का समेत उब्जिएकाले दुवै अधिकार एउटै व्यक्तिलाई दिएको भन्सार विभागले जनाएको छ ।
अधिकार एकै व्यक्तिलाई दिएपछि व्यापारीलाई धेरै राहत हुने सरकारी अधिकारीहरु बताउँछन् । प्रज्ञापनपत्र जारी गर्नेलाई सम्बन्धित गाडीमा कुन कुन सामान आएको छ भन्ने थाहा हुन्छ । त्यसैका आधारमा त्यही कर्मचारीले एक्जिट नोट जारी गर्छ ।

सरकारले व्यापारलाई सहजीकरण गर्ने र प्रक्रिया छोट्याउने हिसाबले पनि काम गरेको छ । यसले गर्दा प्रक्रिया पनि लामो हुने र धेरै कर्मचारीको सहभागिता पनि हुने गरेपछि अबदेखि प्रज्ञापन पत्र दिने र एक्जिट नोट जारी गर्ने एउटै व्यक्ति हुने व्यवस्था गरिएको छ ।
अबदेखि जसले जाँच पास गर्छ, उसैले एक्जिट नोट जारी गर्ने बनाइएको छ । व्यापारीको अत्यधिक समय, अनावश्यक समस्या, धेरै कर्मचारीको सहभागिता कम गराउन यस्तो व्यवस्था लागू गरिएको हो ।
व्यापारीले लामो समयदेखि भन्सारमा ल्याएर गाडीको लाम लगाउनुपर्ने बाध्यता थियो । विभिन्न कर्मचारीको सहभागिता हुने र अनावश्यक दुःख दिने गरेपछि द्रूत गतिमा भन्सार पास नहुने समस्या अब अन्त्य हुने व्यवसायीले विश्वास गरेका छन् ।